कम महत्त्व दिइएको पोषक तत्त्व मस्तिष्कका लागि महत्त्वपूर्ण
यो यौगिकले हाम्रो संज्ञानात्मक क्षमता राम्रो बनाउन र चिन्ता कम गराउन महत्त्वपूर्ण भूमिका खेल्छ तर के हामीले यसको उपभोग पर्याप्त मात्रामा गरिरहेका छौँ त ? यस्तो पोषक तत्त्व ‘कोलिन’ का बारे तपाईँले नसुन्नुभएको हुन सक्छ, तर अध्ययनहरूले हाम्रो जीवनका विभिन्न चरणमा यो तत्त्व महत्त्वपूर्ण हुने देखाएका छन्। कोलिन भिटामिन होइन र खनिज पनि होइन – यो जैविक यौगिक हो जुन मानव स्नायु प्रणालीले स्वास्थ्य रूपमा काम गर्नका लागि अति आवश्यक छ। अहिले सार्वजनिक भइरहेका प्रमाणहरूले कोलिन धेरै खाँदा धेरै प्रकारका फाइदा हुने देखाएका छन् जस्तो कि तपाईँको संज्ञानात्मक क्षमतामा सुधारदेखि स्नायु विकाससम्बन्धी समस्याबाट बचाउनेसम्म – त्यसमा कुनै कुरामा ध्यान केन्द्रित गर्न नसक्ने वा अति सक्रिय हुने समस्या एडीएचडीदेखि डीसलेक्सियासम्म पर्छन्।
यो पोषक तत्त्वले मानवको स्नायु विकासमा महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ। एउटा अध्ययनमा गर्भावस्थाका बेला कोलिन पोषणपूरक लिएका आमाहरूले जन्माएका शिशुको सूचना ग्रहण गर्ने गति अन्यको तुलनामा बढी भएको पाइयो – यो स्वस्थ संज्ञानात्मक कार्य प्रणालीको मापन हो। वैज्ञानिकहरू भन्छन्: कोलिन अद्भुत पोषक तत्त्व हो तर यसलाई असाध्यै कम महत्त्व दिइएको छ। कोलिन के मा पाइन्छ र तपाईँले यो पर्याप्त मात्रामा पाइरहनुभएको छ त?
असाध्यै महत्त्वपूर्ण पोषक तत्त्व
‘हाम्रो शरीरको हरेक कोषमा कोलिन हुन्छ,’ अमेरिकाको न्यूयोर्कस्थित ब्रूकलीन कलेजमा स्वास्थ्य र पोषण विज्ञानकी प्रोफेसर जिनयिन जियाङ भन्छिन्। कोलिन ‘अति आवश्यक’ पोषक तत्त्व हो, त्यसको अर्थ त्यो हाम्रो स्वास्थ्यका लागि जरुरी छ। तर हाम्रो शरीरले आफूलाई आवश्यक पर्ने जति कोलिन आफै उत्पादन गर्दैन। त्यसैले हामीले हाम्रो खानाबाट त्यो प्राप्त गर्नु पर्ने हुन्छ। यो ओमेगा ३ फ्याटी एसिड सँग मिल्दोजुल्दो छ यद्यपि यो भिटामिन बीसँग जोडिएको छ भन्छिन् विज्ञान लेखक तथा न्यूट्रिशनल इन्साइटकी प्रमुख कार्यकारी एमा डर्बीशर। कोलिन धेरैजसो प्राणीमा आधारित खानेकुरा: बीफ, अण्डा, माछा, कुखुराको मासु र दूधमा पाइन्छ। त्यसैगरी बदाम, राजमा सिमी, च्याउ र ब्रोकली आदिमा पनि पाइन्छ। अध्ययनकर्ताहरू वनस्पतिभन्दा प्राणीबाट प्राप्त हुने खानेकुरामा कोलिन धेरै पाइने बताउँछन्। हामीलाई हाम्रो शरीरको कलेजोसहित विभिन्न अङ्गको काम गर्न कोलिन आवश्यक पर्छ। चाहिँदो मात्रामा शरीरमा कोलिन नभए थुप्रै समस्याहरू हुन सक्छन्।
जियाङ भन्छिन्, ‘कोलिनले कलेजोबाट बोसो बाहिर फ्याँक्न सहयोग गर्छ। त्यसैले कोही मानिसमा यथेष्ट मात्रामा कोलिन भएन भने त्यस्तो मानिसको ‘फ्याटी लिभर’ अर्थात् कलेजोमा बोसो जम्मा हुने समस्या हुन सक्छ।’ कोलिनले हाम्रो शरीरलाई फोस्फोलिपिड्सहरू उत्पादन गर्नमा मद्दत गर्छ जुन हाम्रो कोषका झिल्लीका मुख्य तत्त्व हुन्। यो पोषक तत्त्व कम भयो भने हाम्रा नयाँ कोषहरू बन्ने निरन्तरको प्रक्रियामा जीनहरूको काम पनि प्रभावित हुन जान्छ। भ्रूणको विकासका क्रममा कोलिनको अभाव विशेष रूपमा हानिकारक हुन सक्छ किनभने त्यसले मस्तिष्कमा हुने कोषको वृद्धि कम गर्छ।
मस्तिष्कमा कोलिनको भूमिका असाध्यै महत्त्वपूर्ण हुन्छ वास्तवमा यो प्राथमिक रूपमा ‘मस्तिष्क पोषक तत्त्व’, हो डर्बीशर भन्छिन्। हाम्रो शरीरमा न्यूरोट्रान्समिटर एसीटाइलकोलिन बनाउन कोलिन आवश्यक हुन्छ। यो रसायनले नै तपाईँको मस्तिष्कबाट स्नायु कोषसम्म मस्तिष्कको सन्देश पुर्याउने काम गर्छ। एसिटाइलकोलिनले मस्तिष्कका स्नायु कोषहरूमा मुख्य भूमिका खेल्छन् जुन कोष हाम्रो स्मरण, सोचाइ र सिकाइका लागि आवश्यक पर्छ। ३६ देखि ८३ वर्षका १४०० मानिसमाथि गरिएको एउटा अध्ययनमा कोलिन बढी मात्रामा पाइने खाना खानेहरूको स्मरण शक्ति राम्रो भएको पाइयो र अधबैँसे उमेरका बेला प्रशस्त कोलिनयुक्त खाना खाएमा हाम्रो मस्तिष्कलाई बचाउन सहयोग गर्न सक्छ। कोलिनहरू अहिले पूरक पोषकहरू जस्तो कि ‘नूट्रपिक्स’मा राखिएका हुन्छन् – यो विभिन्न वस्तुहरू मिसाएर बनाइएको हुन्छ। केही मानिसहरू यो पोषणपूरकले सिकाइ र स्मरण शक्ति राम्रो बनाउने विश्वास गर्छन्।
अर्कोतिर, कोलिनको कमीलाई स्नायु प्रणाली क्रमशः कमजोर हुँदै जाने अल्जाइमर्स र पार्किन्सन्स जस्ता रोगहरूसँग जोडेर हेर्ने गरिन्छ। एउटा अध्ययनले कोलिन भएका खानेकुरा धेरै खानेहरूमा तनावको स्तर कम भएको पाइयो। र अर्को अध्ययनमा धेरै कोलिनयुक्त खाना खानेहरूमा डिप्रेसनको खतरा कम देखिएको अवस्थासँग पनि जोडेर हेरिएको छ। मुसामा गरिएको एक अर्को अध्ययनमा पाइए अनुसार कोलिनले होमोसीस्टीन भन्ने अमिनो एसिडको तह कम गर्न पनि मद्दत गर्छ। होमोसीस्टीनलाई मुटुसम्बन्धी रोग लाग्ने खतरासँग जोडेर हेरिन्छ।
होमोसीस्टीनको बढी मात्रालाई ओस्टिओपोरोसिससँग पनि जोडेर हेरिएको छ। अनुसन्धानले कोलिन उच्च मात्रामा हुने खाना खाने व्यक्तिको हड्डीको घनत्व उच्च हुने देखाएको छ जसले हड्डी स्वास्थ्य भएको सङ्केत गर्छ र त्यसले गर्दा हड्डी ‘फ्र्याक्चर’ हुने खतरा कम हुन्छ। ‘हाम्रो हड्डीमा क्षयीकरणमा पनि कोलिनको सम्भावित भूमिका हुन सक्छ,’ कोलिन र हड्डी स्वास्थ्यबारे अनुसन्धान गरेकी इन्स्टिट्यूट अफ मरिन रिसर्चकी अनुसन्धानकर्ता ओएन यानिक भन्छिन्। ‘यो आंशिक रूपमा होमोसिस्टीनसँग जोडिएको छ’, उनी भन्छिन्, ‘त्यो किन पनि भने कोलिन हाम्रो कोषको झिल्लीको अत्यावश्यक संरचना पनि हो।’
पहिलो १,००० दिन
बच्चा जन्मिएपछिको पहिलो दुई वर्ष उनीहरूको विकासका लागि अति महत्त्वपूर्ण हुने प्रमाणित भइसकेको छ। र, गर्भवती तथा स्तनपान गराइरहेकी आमाको खाना पनि बच्चाको विकाससँग जोडिएको छ। गर्भाशयमा रहेको बच्चाको विकासका लागि कोलिन अति महत्त्वपूर्ण भएको अध्ययनहरूले देखाएका छन्। ‘वास्तवमा बच्चाहरू आमामा भएको कोलिनको तीन गुणा बढी मात्रामा कोलिन लिएर जन्मिएका हुन्छन्,’ डर्बीशर भन्छिन्, ‘त्यसैले देखाउँछ बच्चाहरूको जीवनको यो चरणमा उनीहरूका लागि कोलिन कति महत्त्वपूर्ण छ भन्ने कुरा।’
केही अध्ययनहरूमा पाइए अनुसार: गर्भमा कोलिनको प्रशस्त उपलब्धता बच्चाको संज्ञानात्मक अवस्थासँग जोडिन्छ। र गर्भमा रहेको अवस्था बच्चाको विकास क्रमका भावी कैयौँ वर्षसम्म पनि जोडिन्छ। एउटा अध्ययनका अनुसार गर्भावस्थाको दोस्रो त्रैमासिक चरणमा कोलिन धेरै भएका खाना खाएका महिलाले जन्माएका बच्चाहरू तत्कालीन र दीर्घकालीन स्मरण क्षमता सम्बन्धी अध्ययनको परीक्षणमा तुलनात्मक रूपमा अगाडि पाइए। केही अध्ययनले भन्छन्: गर्भवती महिलामा कोलिनको मात्रा कम भयो भने उनका बच्चामा कुनै कुरामा केन्द्रित हुन समस्या पर्ने एडीएचडी समस्या हुन सक्छ।
‘हामीले विद्यालयहरूमा थुप्रै एडीएचडी र डीसलेक्सिया देख्न थालेका छौँ। तीमध्ये केही आनुवंशिक हुन सक्छन् तर गर्भावस्थाका बेला मुख्य पोषक तत्त्व नहुनुले पनि त्यसो भएको हुन सक्छ,’ डर्बीशर भन्छन्। ‘यी मिहिन रूपका स्नायु विकासले उनीहरूका पछिल्ला दिनमा असर पारिरहेको हुन्छ। र त्यसबाट उत्पन्न समस्याको अहिले उपचार गरिरहेका छौँ।’ जियाङले गर्भावस्था र स्तनपान तथा मस्तिष्क विकास क्रमका बेला शरीरमा उपलब्ध कोलिनसँगको सम्बन्धबारे अध्ययन गरेकी छन्।
जनावरमा भएको अध्ययनमा देखिएको छ, यथेष्ट कोलिन भएका खानेकुरा खाने आमाका बच्चाहरूमा संज्ञानात्मक विकास राम्रो भएको पाइएको छ। हामी त्यस्तै खाले परिणाम मानिसमा पनि पाइएको देख्छौँ। जनावर र मानिसमा ठ्याक्कै उस्तै परिणाम पाइएको भने होइन।
के हामीले यथेष्ट कोलिन पाएका छौँ ?
युरोपमा द युरोपियन सेफ्टी अथरिटी ईएफएसएले कोलिन खाने मात्राबारे सुझाव तयार पारेको छ: वयस्कहरूका लागि ४०० एमजी (मिलिग्राम), गर्भवतीका लागि ४८० एमजी र स्तनपान गराइरहेकी महिलाका लागि ५२० एमजी प्रति दिन। अमेरिकामा, द इन्स्टिट्यूट अफ मेडिसिन आईओएमले पहिलोपटक सन् १९९८ मा यस्तो मापदण्ड सुझाएको थियो। त्यस अनुसार पुरुषका लागि ५५० एमजी, महिलाका लागि ४२५ एमजी, गर्भवती ४५० एमजी र स्तनपान गराइरहेका बेला ५५० एमजी प्रतिदिन।
एक अण्डामा १५० मिलिग्राम कोलिन पाइन्छ भने कुखुराको छातीको मासुमा करिब ७२ मिलिग्राम। र केही बदाममा २४ मिलिग्राम। सन् २०१७ मा अमेरिकन मेडिकल असोसिएशनले पनि गर्भमा रहेकै बेला बच्चाहरूका लागि “प्रमाणमा आधारित” कोलिन पुरकपोषकका रूपमा दिन सुझाव दिएको थियो।
मस्तिष्कको पोषण
सन् २०२० मा ३८ जनावर र १६ मानवमा गरिएको अध्ययनमा कोलिनको पोषणपूरक थप्दा मस्तिष्क विकासमा सहयोग गर्ने देखियो। तर अहिलेसम्म जनावरमा मात्र कोलिन र संज्ञानात्मक क्षमताबीच बलियो सम्बन्ध प्रमाणित भएको देखाएको छ। यससम्बन्धी अनुसन्धान प्रतिवेदनमा कति पोषणपूरक आवश्यक हो भन्ने सुझाइएको छैन। तर धेरैजसो मानवमा गरिएको अध्ययनमा कोलिन ९३० मिलिग्राम प्रतिदिन दिइएको थियो जुन करिब ६ वटा कुखुराको अण्डा खाएमा प्राप्त हुने मात्रा हो। यति मात्रा खाँदा नराम्रो असर पाइएको थिएन।
ओएनका अनुसार केही मानिसलाई दैनिक सुझाव गरिएको मात्राभन्दा बढी आवश्यक पर्ने पनि हुन सक्छ: रजनोवृत्ति पछिका महिलाहरू, एस्ट्रोजोन होर्मोन कम भएका मानिसहरू र फ्याटी लिभर भएका मानिसहरू । ‘हामीले कोलिन भएका खानेकुरा खायौँ भने त्यो हाम्रो रगतमा सजिलै सोसिन्छ,’ जियाङ भन्छिन् त्यसैले पनि हामीले कोलिन यथेष्ट खाने उपाय अपनाउनुपर्छ।
अध्ययनहरूले देखाएका छन्- हामीमध्ये धेरैले पर्याप्त कोलिनयुक्त खानेकुरा खाएका छैनौँ। एउटा अध्ययनले करिब ११ प्रतिशत अमेरिकी वयस्कहरूले मात्रा सुझाइए अनुसारको दैनिक मात्रा खाइरहेका छन्। अण्डा कोलिन प्राप्त गर्न एक महत्त्वपूर्ण स्रोत हो। त्यसैले भीगन खाना रोज्नेहरूले कोलिन यथेष्ट नपाउने हुन् कि भन्ने चिन्ता प्रकट गरिएको छ। तर विकसित मुलुकहरूमा वनस्पतिमा आधारित कोलिन पोषणपूरक रूपमा उपलब्ध छन्।
एक अध्ययनले अण्डा खानेहरूमा नखानेमा भन्दा दोबर मात्रामा कोलिन पाइयो र ती अध्ययनकर्ताहरूले अण्डा नखानेहरूमा पोषणपूरकका रूपमा कोलिन नलिने हो भने शरीरका लागि यथेष्ट कोलिन प्राप्त गर्न ‘अत्यन्त मुस्किल’ हुन्छ भन्ने निष्कर्ष निकालेका छन्। तर इएफएसको सुझाव अनुसारको ४०० मिलिग्राम कोलिन प्रतिदिन धेरै मानिसहरूले आफ्नो खुराकलाई राम्ररी ध्यानमा राखे भने प्राप्त गर्न सकिने जियाङ बताउँछिन्। तोफु, पिनट बटर र भटमास कोलिनका महत्त्वपूर्ण स्रोत हुन्।
आफूले पर्याप्त कोलिन नपाएको भन्ने लाग्नेहरूले दैनिक पोषकपूरण खान सक्ने ओएन भन्छन्। तर कोलिनले स्वास्थ्यमा पुर्याउन सक्ने फाइदाबारे थप जानकारीका लागि जनावर र मानवमाथि थप अध्ययन आवश्यक रहेको उनले बताइन्। यद्यपि ‘अहिले कोलिनबारे चेतना बढ्दो छ’ डर्बीशर भन्छिन्। यो अलि बेवास्ता गरिएको जस्तो भए पनि यो छिटै धेरैका नजरमा पर्न सक्छ।
-जेसिका ब्रेड्ली
बीबीसी