काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज साँझ अमेरिका प्रस्थान गर्दैछन् ।
शाह साँझ ७ बजे कतार एयरवेजबाट दोहा हुँदै न्युयोर्क प्रस्थान गर्ने कार्यक्रम छ । उनीसँग ६ जनाको टोली अमेरिका जाँदै छ । अहिले जाने टोलीमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार व्यञ्जनकार, प्रमुख शिष्टाचार अधिकारी कुमार खरेल, निजी फोटोग्राफर विनय शाक्य, दुईजना सुरक्षाकर्मी र एकजना शिष्टाचार अधिकृत हुने छन् ।
तर यसअघि नै परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली अमेरिका पुगिसकेको छ । प्रधानमन्त्रीका स्वकीय सचिव प्रदीप परियार र सुवास शर्मा पनि न्युयोर्कमै छन् ।
अमेरिका प्रस्थान गर्दा शाहले नेपाली सेनाको सलामी नलिने भएका छन् । मन्त्रीसहितका सरकारी पदाधिकारी र उच्चपदस्थ कर्मचारीहरू लाइन लागेर बिदाइ गर्ने परम्परा पनि तोडिने भएको छ ।
यसअघिका प्रधानमन्त्रीहरू औपचारिक विदेश भ्रमणमा जाँदा सेनाले गार्ड अफ अनर दिने परिपाटी थियो । यो परिपाटी पनि आज भंग हुन सक्ने प्रधानमन्त्री निकट स्रोतको भनाइ छ । गार्ड अफ अनर अनिवार्य लिनै पर्ने कुनै प्रोटोकल वा कानूनी वाध्यता रहेरनरहेको अध्ययन भइरहेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया