काठमाडौं । नेकपा एमालेको सोमबारदेखि जारी केन्द्रीय समितिको बैठक मंगलबार पनि ललितपुरमा जारी छ ।
दोस्रो दिनको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बैठक सञ्चालन गरेको र पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन पेस गर्न नदिएकोमा वक्ताहरुले असन्तुष्टि जनाएका छन् । उपाध्यक्ष विष्णु पौडेलले पार्टीलाई एकताबद्ध बनाउन खुला छलफल हुनुपर्ने बताए । उनले कार्यदलको प्रतिवेदन पेश गर्न दिन अध्यक्षसँग माग गरे ।
महासचिव शंकर पोखरेलले पनि कार्यदलको प्रतिवेदन पेस गर्न दिन माग गरे । त्यसमा छलफल गर्नु पर्ने पनि उनले बताए । त्यसैगरी नेता ठाकुर गैरेले अध्यक्षले नै बैठक चलाउने विधि पार्टीको नभएको बताए । उनले महासचिवलाई बैठक चलाउन दिन माग गरे ।
नेता कर्ण थापाले पनि ओलीको कार्यशैलीको विरोध गरे । उनले हिजोको बैठकमा पनि अध्यक्ष ओली आफैले बैठक चलाउने कार्यशैलीको विरोध गरेका थिए । अहिले केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी छ ।
अध्यक्ष ओलीको निर्देशनबमोजिम बैठकमा कडाइ गरिएको छ। मोबाइल निषेध गरिएको छ भने बैठकबाट बाहिर जानुपर्दा अध्यक्षको अनुमति लिनुपर्नेछ। आवाज र भिडियो रेकर्ड गर्न दिइएको छैन । बोल्नुपर्दा अध्यक्षको ध्यानाकर्षण गराएर अनुमति पाएपछि मात्रै बोल्नुपर्ने नियम बनाइएको छ।

प्रतिक्रिया