दक्षिण कोरियाको विपक्षीद्वारा कार्यवाहक राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव दर्ता



सियोल । दक्षिण कोरियाको विपक्षीले बिहीबार कार्यवाहक राष्ट्रपति हान डक–सू विरुद्ध महाभियोग प्रस्ताव दायर गरेको छ । राष्ट्रपति हानले आफ्नो पूर्ववर्तीलाई पदबाट हटाउने प्रक्रिया पूरा गर्न संवैधानिक अदालतका न्यायाधीशहरू नियुक्त गर्न अस्वीकार गरेपछि विपक्षीले महाअभियोग प्रस्ताव दर्ता गरेको हो ।

हाल निलम्बित राष्ट्रपति युन सुक योलले डिसेम्बर ३ मा सैनिक कानून घोषणा गरेपछि दक्षिण कोरिया राजनीतिक सङ्कटमा परेको छ ।

यस कार्यलाई लिएर डिसेम्बर १४ मा संसद्ले युनको अधिकार खोसेको थियो तर महाभियोग प्रक्रिया पूरा गर्न सांसदहरूको निर्णयलाई समर्थन गर्ने संवैधानिक अदालतको फैसला आवश्यक छ ।

तर कार्यवाहक राष्ट्रपति हानले संवैधानिक अदालतको नौ सदस्यीय बेन्च भर्नका लागि तीनजना मनोनीत न्यायाधीशको नियुक्तिलाई अनुमोदन गर्न अस्वीकार गरेर अनिवार्य रूपमा युनलाई हटाउने प्रक्रियालाई रोकेका थिए । त्यसैले विपक्षी डेमोक्रेटिक पार्टीले अब हानलाई पनि महाअभियोग लगाउन खोजिरहेको छ ।

“हामीले प्रस्ताव पेस गरेका छौँ र यसलाई आज पूर्ण अधिवेशनमा रिपोर्ट गर्नेछौँ”, सांसद पार्क सुङ–जुनले हान विरुद्धको कारबाहीबारे राष्ट्रिय सभामा पत्रकारहरूलाई भने, “हामी यसलाई भोलि मतदानमा राख्नेछौँ ।”

“हानले तीन न्यायाधीशको औपचारिक नियुक्ति गर्न अस्वीकार गर्नुले उहाँमा संविधान कायम राख्ने इच्छा वा योग्यता छैन भन्ने प्रमाणित गर्छ”, डेमोक्रेटिक पार्टीका फ्लोर लिडर पार्क चान–डाएले पत्रकारहरूलाई भने ।

यदि अदालतले थप तीन न्यायाधीश बिना नै महाअभियोग प्रक्रिया अगाडि बढाउने हो भने हालका सबै छ न्यायाधीश युनलाई पदबाट हटाउन सर्वसम्मतिले सहमत हुनुपर्नेछ । एक मात्र असहमति मतले युनलाई पुनर्बहाली गर्नेछ ।

हानले उनको सत्तारूढ पिपुल पावर पार्टी र विपक्षीले मनोनयनमा सम्झौता गरेमा मात्र न्यायाधीशहरूको नियुक्तिलाई प्रमाणित गर्ने बताएकाे छ ।

“हाम्रो संविधान र कानूनमा अन्तर्निहित सुसङ्गत सिद्धान्त भनेको संवैधानिक संस्थाहरूको नियुक्ति लगायत महत्त्वपूर्ण विशेष राष्ट्रपतिको अधिकारको प्रयोग गर्नबाट टाढा रहनु हो”, ७५ वर्षीय क्यारियर ब्युरोक्रेट हानले तर्क गरे, “जनताको प्रतिनिधित्व गर्ने राष्ट्रिय सभामा सत्तारूढ र विपक्षी दलहरूबीच पहिले सहमति हुनुपर्छ ।”

यदि विपक्षीले शुक्रबारको मतदानमा हान विरुद्धको महाभियोग प्रस्ताव पारित गर्यो भने यो लोकतान्त्रिक दक्षिण कोरियाले कुनै कार्यवाहक राष्ट्रपतिमाथि महाअभियोग लगाएको पहिलो पटक हुनेछ ।

त्यस्तो अवस्थामा हानको स्थानमा अर्थमन्त्री चोई साङ–मोकले कार्यवाहक राष्ट्रपतिको कार्यभार सम्हाल्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अहमदावादमा दुर्घटनाग्रस्त विमानको दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो

अहमदावाद । भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको दोस्रो ‘ब्ल्याक बक्स’

इरान र इजरायलबीचको तनाव आगामी केही घन्टामा ‘शान्त’ हुने म्याक्रोँको आशा

ग्रीनल्याण्ड । इरान–इजरायल द्वन्द्व ‘आगामी केही घण्टाभित्र’ शान्तिमा फर्कने आशा व्यक्त गर्दै फ्रान्सका

खाडी ग्यास सुविधामाथि इजरायलको आक्रमण ‘युद्ध विस्तार गर्ने’ प्रयास रहेको इरानको भनाई

तेहरान । इरानका विदेशमन्त्री अब्बास अराघचीले आइतबार खाडी तटमा रहेको प्रमुख ग्यास सुविधामा

भष्टाचार मुद्दामा दोषी ठहरिएपछि फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजीको खोसियो सर्वोच्च सम्मान

पेरिस । भ्रष्टाचारको अभियोगमा दोषी ठहर भएपछि फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीबाट लिजन अफ