काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गनेस)ले पर्यटन ऐनलाई चुस्तदुरुस्त बनाउँदै नियमावलीलाई समयअनुकूल र लचिलो बनाउनुपर्ने बताएका छन् ।
मंगलबार बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा क्यासिनो क्षेत्रका व्यवसायीहरूसँग छलफल गर्दै मन्त्री पौडेलले पर्यटन विधेयकमा अझै धेरै काम गर्नुपर्ने अवस्था रहेको बताए ।
मन्त्री पौडेलले पर्यटन विधेयक राष्ट्रियसभाबाट पारित भएर आएको भएपनि समयअनुकूल धेरै विषय थप्नुपर्ने र सच्याउनुपर्ने भएकाले पुनर्लेखनको चरणमा जान सक्ने बताए ।
उनले भने, ‘पर्यटन विधेयक माथि हामीले धेरै नै काम गर्नुपर्ने छ । सभापति ज्यूसँग र सम्बन्धित साथिहरुसँग मैले निकै नै होमवर्क गरिरहेको छु । किनकी यो राष्ट्रिय सभाबाट पारित भएर आएको र यसमा समयानुकुल थप्नुपर्ने धेरै चिजहरु छन् । र सच्याउन पर्ने धेरै भएकाले पुर्नलेखनको चरणबाट गुज्रिन सक्ने अवस्था छ । त्यसकारण सम्बन्धित निकायसँगको गहन छलफल अझै गर्दै जानुपर्छ ।’
मन्त्री पौडेलले केही समयअघि ठूलो संख्यामा भारतीय पर्यटक नेपाल आएको र उनीहरूले भारतीय रुपैयाँ बोकेर आउँदा त्यसको सटहीमा समस्या देखिएको बताए । उनले मुस्ताङ, मनाङ, मुक्तिनाथ र पोखराजस्ता क्षेत्रमा भारतीय पर्यटकको ठूलो उपस्थिति रहेको उल्लेख गर्दै व्यवसायीले पर्यटकबाट लिएको रकम सटही गर्न नसक्दा समस्या भएको बताए ।
उनले भने, ‘केही समय पहिले भारतीय पर्यटनहरुको बाढी जस्तो आएको थियो । मुस्ताङ, मनाङ, मुक्तिनाथ, पोखरा जस्तो क्षेत्रामा ठुलो संख्यामा थियो र भारतीय पर्यटकहरुले ठूलो मात्रामा त्यताको पैसा बोकेर आउनुभयो र हाम्रो व्यवसायी साथिहरुले लिइदिनुभयो र त्यसपछि त्यसको सटही हुन नसक्ने समस्या जटिल भएर गएपछि सम्मानीय ज्यूसँग म आफैले समन्वय गरेर कम्तिमा सटही गर्ने अवसर त दिनुपर्यो नत्र त गैरकानुनी जस्तो भयो यो ।’
उनले पर्यटकले होटल, सामान र खानामा खर्च गरेको रकमसमेत सटही गर्न नपाउने अवस्था देखिनु व्यावहारिक नभएको बताए ।
बैठकमा क्यासिनो व्यवसायी बलराम सापकोटाले नेपालमा क्यासिनो सञ्चालनका लागि स्पष्ट र समान मापदण्ड बनाउनुपर्ने माग गरे । उनले क्यासिनोले कम्तीमा ३ सयदेखि ५ सय जनासम्मलाई रोजगारी दिन सक्ने व्यवस्था हुनुपर्ने बताए ।

प्रतिक्रिया