युक्रेनमा पुटिनको जित ट्रम्पका लागि राम्रो होइन
किएभ । युरोपेली सङ्घका विदेश नीति प्रमुख जोसेप बोरेलले युक्रेनमा रूसलाई जित्न दिनु अमेरिकाका लागि ठूलो क्षति हुने बताएका छन् ।
“युक्रेन ध्वस्त भयो र पुटिनले युद्ध जिते भने पक्कै पनि यो अमेरिकी नेतृत्वको जीत हुने छैन,” अमेरिकी रिपब्लिकन नेता ट्रम्पले अमेरिकी राष्ट्रपतीय चुनावमा विजय हासिल गरेपछि इयूका एक वरिष्ठ अधिकारीद्वारा किएभ पहिलो भ्रमणका क्रममा बोरेलले भने ।
ट्रम्पको पुनः निर्वाचनपछि उनले रूसको युक्रेनमा भइरहेको आक्रमणविरुद्ध किएभको लडाईंमा वासिङ्टनको समर्थन रोक्ने चिन्ता युक्रेन र युरोपमा बढेको छ।
चुनावी अभियानका क्रममा ट्रम्पले युक्रेनलाई अमेरिकी सेना र आर्थिक सहयोग कायम राख्नेमा शङ्का व्यक्त गर्दै युद्ध अन्त्यका लागि आफूले छिट्टै सम्झौता गर्न सक्ने बताएका थिए ।
अर्को महिना पद छोड्नु अघि भएको बोरेलको युक्रेन भ्रमण सम्भवतः इयूका विदेश नीति प्रमुखका रूपमा उनको अन्तिम यात्रा हो तर उनले किएभलाई अमेरिकी चुनावको परिणामको बावजूद युरोपको दृढ समर्थन छ भन्ने आश्वस्त पार्ने उद्देश्यले कार्यकालको अन्तिम घडीमा युक्रेनको भ्रमण गरेका हुन् ।
ट्रम्प र पुटिनबीच गत साता भएको टेलिफोन वार्तामा युक्रेन युद्धबारे छलफल भएको भन्ने आइतबार छापिएको वासिङ्टन पोस्टको रिपोर्टलाई क्रेमलिनले सोमबार खण्डन गरेको छ ।
उनीहरू पहिले नै कुरा गरिसकेका छन् कि छैनन् भन्नेबारे आफूलाई कुनै सङ्केत नभएको तर कुनै न कुनै समयमा उनीहरूले पक्कै पनि कुरा गर्ने बोरेलले बताए ।
“यो कुनै आश्चर्यको कुरा होइन”, उनले भने, “जर्मनीका चान्सलर ओलाफ स्कोल्जलगायत इयूका नेताहरूले पनि पुटिनसँग वार्ता गर्न तयार रहेको चर्चा सुनिएको छ।