जनमत सङ्ग्रह गराउन फ्रान्सका अतिदक्षिणपन्थी नेता ले पेनको म्याक्रोनसँग आग्रह
फ्रान्सका अति दक्षिणपन्थी नेता मरिन ले पेनले आइतबार राष्ट्रपति इम्यानुएल म्याक्रोनसँग अध्यागमनजस्ता प्रमुख मुद्दामा जनमत सङ्ग्रह गराउन आग्रह गरेकी छन् । उनले फ्रान्सेलीलाई प्रत्यक्ष मतदान गर्न दिइँदा राजनीतिक गतिरोध तोड्न सहयोग पुग्ने बताइन् ।
गत साता म्याक्रोनले युरोपेली सङ्घ (इयु) को ब्रेक्सिटको वार्ताकारका रूपमा काम गर्नुभएका ७३ वर्षीय पूर्वविदेशमन्त्री मिशेल बार्नियरलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।
तर ले पेनको युरोसेप्टिक, अध्यागमनविरोधी नेसनल र्याली (आरएन) पार्टीको समर्थनमा निर्भर बार्नियरलाई सत्तामा नियन्त्रण गर्न कमजोर मानिएकाले मुलुक अस्थिरताको अवधिका लागि तयार रहेको विश्लेषकहरूले बताएका छन् । आरएन नयाँ नेसनल एसेम्बलीमा सबैभन्दा ठूलो पार्टी हो ।
निर्वाचनपछि फ्रान्सको सबैभन्दा ठूलो राजनीतिक गुटका रूपमा उदय भएको तर बहुमतको कमी रहेको वामपन्थी गठबन्धनले पनि बार्नियरमाथि दबाब बढाइरहेको छ ।
प्रधानमन्त्रीमा बार्नियरको मनोनयनको विरोधमा र म्याक्रोनको ‘सत्ता कब्जा’ को निन्दा गर्न शनिबार एक लाखभन्दा बढी वामपन्थी प्रदर्शनकारीले फ्रान्समा जुलुस निकालेका थिए ।
संसदमा आरएनका सांसदहरूलाई नेतृत्व गर्ने ले पेनले आफ्नो पार्टी नयाँ मन्त्रिपरिषद्मा सहभागी नहुने बताइन् ।
आइतबार उनले म्याक्रोनसँग जनतालाई प्रत्यक्ष मतदान गर्नका लागि अध्यागमन, स्वास्थ्य हेरचाह र सुरक्षा जस्ता प्रमुख मुद्दामा जनमत सङ्ग्रह गराउन आग्रह गरिन् ।
अति दक्षिणपन्थीहरूको परम्परागत गढ उत्तरी सहर हेनिन–ब्युमोन्टमा उनले आरएनले ‘जनतालाई प्रत्यक्ष निर्णय लिने शक्ति दिने उद्देश्यबाट कुनै पनि दृष्टिकोणलाई निःशर्त समर्थन गर्ने’ बताइन् । “इम्यानुएल म्याक्रोनसँग आफैँले सिर्जना गर्नुभएको अराजकतामा हाम्रो लोकतन्त्रलाई जीवित गर्ने शक्ति छ”, उनले भनिन् ।
आरएनलाई पूर्ण बहुमत प्राप्त गर्न र सरकार बनाउनबाट रोक्न करिब दुई सय उम्मेदवार जुलाईमा विधायिकाको आकस्मिक निर्वाचनको अन्तिम चरणअघि खडा हुँदा अति दक्षिणपन्थीहरूमा आक्रोश बढ्यो । ले पेनले बार्नियरको हरेक चालमा नजर लगाउने सङ्केत दिइन् ।
“यदि आगामी साताहरूमा फ्रान्सेलीहरूलाई एक पटक पुनः बिर्सियो वा उनीहरूसँग दुर्व्यवहार गरियो भने हामी सरकारको निन्दा गर्न सङ्कोच मान्दैनौँ”, उनले भनिन् ।
पत्रकारहरूसँग कुरा गर्दै ५६ वर्षीया ले पेनले फ्रान्समा ‘एक वर्षभित्र’ नयाँ विधायिकी निर्वाचन हुने अपेक्षा गरेकी छन् । “फ्रान्सलाई स्पष्ट बहुमत आवश्यक छ भन्ने मलाई लागेको छ”, उनले भनिन् ।
वामपन्थी गठबन्धनले पनि अविश्वासको प्रस्तावमार्फत बार्नियरलाई सत्ताबाट हटाउने वाचा गरेको छ । वामपन्थी गठबन्धनले ३७ वर्षीया अर्थशास्त्री लुसी कास्टेट्सलाई प्रधानमन्त्री बनाउन चाहन्थ्यो तर राष्ट्रपति म्याक्रोनले त्रिशङ्कु संसदमा उनले विश्वासको मत हासिल नगर्ने भन्दै उक्त विचारलाई खारेज गरे ।