अजरबैजान र अर्मेनियाबीचको युद्धविरामको राष्ट्रसंघका महासचिवद्वारा स्वागत
अजरबैजान र अर्मेनियाबीच शनिबार भएको युद्धविरामको संयुक्त राष्ट्रंघीय महासचिव एन्टोनियो गुटर्रेसले स्वागत गरेका छन् । महासचिव गुटर्रेसका प्रवक्ता स्टेफन डुजारिकले जारी गरेको विज्ञप्तिमा युद्धविरामको स्वागत गरिएको छ ।
शनिबार यी दुई देशबीच युद्धविरामको सम्झौता भएको थियो । रुसी विदेश मन्त्रीको रोहबरमा शनिबारदेखि युद्धविराम लागू हुने गरी दुई देशले सहमति गरेका थिए । यी दुई देशलाई युद्धविराम गरेर वार्ताको टेबलमा बसी बाँकी सहमतिका काम गर्नका लागि महासचिव गुटर्रेसले विगत लामो समयदेखि आग्रह गर्दै आएका थिए ।
रुसी राजधानी मस्कोमा यी दुई देशबीच वार्ता भएको र उक्त वार्तापछि युद्धविरामको सहमति भएको थियो । युद्धविरामका लागि रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले मध्यस्थता गरेका थिए । युद्धविरामसँगै हालैका दिनमा त्यहाँ जारी रहेको समस्याको समाधानका लागि पनि अब दुई मुलुकले ठोस वार्ता गर्ने भएका रुसले बताएको छ ।
यस युद्धविरामका लागि रुसले गरेको पहलको पनि उनले स्वागत गरेका छन् । उनले यस्तो प्रयासपछि अबका दिनमा यी दुई देश वार्ताको टेबलमा बसेर समस्याको समाधान गर्ने अपेक्षा गरिएको पनि बताएका छन् ।
यी दुई देशका बीचमा दशकौँ देखि भूमीसम्बन्धी विवाद रही आएको र पछिल्लो समय सेप्टेम्बर २७ मा युद्ध भड्किएपछि आपसमा आक्रमण शुरु भएको थियो । हिमाली क्षेत्र नोगोर्नो काराबाखलाई लिएर पछिल्लो समय आपसमा हमला भइरहेको छ ।
यस युद्धमा परेर करिब ४ सय जनाले ज्यान गुमाएका पनि पछिल्लो प्राप्त समाचारमा जनाइएको छ । विवादास्पद नागोर्नो काराबाख क्षेत्र अजरबैजानको भूमि हो । तर त्यो क्षेत्र लामो समयदेखि नै अर्मेनियाको जातीय समुहको नियन्त्रणमा रही आएको छ