ब्रजिल बन्यो कोरोनाभाइरसबाट सबैभन्दा धेरै मानिस सङ्क्रमित हुने विश्वकै चौथो देश
स्पेन र इटलीलाई उछिन्दै ब्रजिल कोरोनाभाइरसबाट सबैभन्दा धेरै मानिस सङ्क्रमित हुने विश्वकै चौथो देश बन्न पुगेको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा ७ हजार ९३८ जना नयाँ सङ्क्रमित भेटिएका जनाएको छ । यससँगै सङ्क्रमितको सङ्ख्या दुई लाख ४१ हजार पुगेको छ । त्यो भन्दा धेरै सङ्क्रमित अमेरिका, रूस र ब्रिटेनमा मात्र छन् ।
पछिल्लो २४ घन्टामा ब्रजिलमा ४८५ जनाको ज्यान गएपछि मृत्यु हुनेको सङ्ख्या १६ हजार ११८ पुगेको छ । कोरोनाभाइरसबाट सबैभन्दा धेरै मानिसको मृत्यु हुने देशमा ब्रजिल पाँचौँमा पर्छ । विज्ञहरूले कोरोनाभाइरसको कम परीक्षणका कारण वास्तविक सङ्ख्या निकै धेरै हुनसक्ने चेतावनी दिएका छन् । देशमा सबैभन्दा धेरै जनसङ्ख्या रहेको सहर साओ पाउलोका मेयरले सहरको स्वास्थ्य प्रणाली ध्वस्त हुनसक्ने चेतावनी दिएका छन् ।
मेयर ब्रुनु कोभासले सहरका अस्पतालमा रहेका आपतकालीन शैयाहरू ९० प्रतिशत भरिएका र माग अझै बढिरहेको जानकारी दिए । देशकै सबैभन्दा प्रभावित मध्येको सहर साओ पाउलोमा तीन जनाको ज्यान गइसकेको छ । अस्पतालको क्षमता अपुग हुनुअघि सङ्क्रमणको गति रोक्ने प्रयास स्वरूप लकडाउन कडा तुल्याउने विषयमा राज्यका गभर्नरसँग वार्ताहरू गरिरहेको उनको भनाइ छ ।
सहरको ठूलो जनसङ्ख्याले सामाजिक दूरीको नियम तोडिरहेको देखिएका बेला मेयरले नगरका बासिन्दाहरूलाई लकडाउनका नियम अवज्ञा गर्ने क्रियाकलाप रोक्न आग्रह गरेका छन् । मेयर कोभासले कोरोनाभाइरसले निम्त्याएको सङ्कटबाट जोगिने मौका बढाउने गरि काम गर्न सहरका बासिन्दालाई आग्रह गरेका छन् ।
तर विश्वव्यापी रूपमा जारी गरिएको स्वास्थ्य सतर्कताको बेवास्ता गर्दै राष्ट्रपतिले आइतवार पनि आफ्ना समर्थक र बालबालिकासँग भेटघाट गरेर बिताए । ब्रजिलका चरम दक्षिणपन्थी राष्ट्रपति जाइर बोल्सोनारू लकडाउनको निरन्तर विरोधमा छन् । कोरोनाभाइरसको सङ्क्रमणसँग जुध्न उनको सरकारले लिएको नीतिलाई लिएर देशभित्र र बाहिरबाट उनले चर्को आलोचना खेप्नु परेको छ ।
बोल्सोनारूले ’सामान्य फ्लु’ भन्दै कोभिड १९ को विस्तार अपेक्षित रहेको बताउने गरेका छन् । स्वास्थ्य विज्ञहरू परीक्षणको सीमितताका कारण आधिकारीक तथ्याङ्कभन्दा निकै धेरै सङ्क्रमित हुनसक्ने बताउँछन् । उनी लकडाउनका प्रतिबन्धहरू फकुवा गर्न माग गर्दै अप्रिल महिनामा आयोजित प्रदर्शनहरूमा सहभागी भएका थिए ।
प्रतिबन्धहरूले देशको अर्थतन्त्र ध्वस्त पारिरहेको, बेरोजगारी र भोकमरी निम्त्याइरहेको उनको भनाइ छ । व्यायामशाला र ब्युटिपार्लर पुनः खोल्न दिने बोल्सोनारूको घोषणाको सार्वजनिक रूपमा आलोचना गरेका स्वास्थ्यमन्त्रीले जिम्मेवारी सम्हालेको एक महिना नपुग्दै गत साता राजीनामा दिएका थिए । ब्रजिलका पूर्व रक्षामन्त्रीहरूको एउटा समूहले विज्ञाप्ति जारी गर्दै सेनालाई सत्ता हातमा लिन राष्ट्रपतिका समर्थकहरूले गरेको आग्रहको निन्दा गरेको छ।