लिमा । भ्रष्टाचारसम्बन्धी मुद्दामा २० वर्षको जेल सजाय भोगिरहेका पेरुका पूर्व राष्ट्रपति अलेजान्ड्रो टोलेडोले स्वास्थ्य अवस्था गम्भीर रूपमा बिग्रिएको उल्लेख गर्दै मानवीय आधारमा माफी दिन सरकारसँग औपचारिक अनुरोध गरेका छन् ।
उनका कानुन व्यवसायीले सोमबार उक्त निवेदन सरकारसमक्ष पेस गरिएको पुष्टि गरेका छन् ।एकासी वर्षीय टोलेडोले सरकारलाई बुझाएको लिखित निवेदनमा जेल जीवनका क्रममा आफ्नो स्वास्थ्य निरन्तर बिग्रिएको उल्लेख गर्दै चिकित्सकहरूले जुनसुकै बेला हृदयघात वा मस्तिष्क घात हुन सक्ने चेतावनी दिएको जनाएका छन् । सन् २००१ देखि २००६ सम्म पेरुको राष्ट्रपति रहेका टोलेडोले स्वास्थ्य अवस्थाका कारण मानवीय आधारमा रिहा गरिनुपर्ने माग गरेका हुन ।
उनका कानुन व्यवसायी कार्लोस टोरेसले एएफपीसँग कुरा गर्दै टोलेडोको स्वास्थ्य अवस्था चिन्ताजनक बनेकाले माफीको माग अपरिहार्य भएको बताए । उनका अनुसार रिहाइका लागि औपचारिक निवेदन सोमबार लिमा प्रशासनसमक्ष दर्ता गरिएको हो ।
टोलेडोको यो निवेदन केइको फुजिमोरीले पदभार ग्रहण गर्नुभन्दा करिब दुई साताअघि दर्ता गरिएको हो । केइको फुजिमोरी पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीकी छोरी हुन भने टोलेडो उनका प्रमुख राजनीतिक प्रतिस्पर्धीमध्ये एक मानिन्थे ।
टोलेडोलाई सन् २०२४ मा ब्राजिलको निर्माण कम्पनी ओडेब्रेक्टसँग सम्बन्धित बहुचर्चित भ्रष्टाचार काण्डमा सार्वजनिक पूर्वाधार ठेक्काको बदलामा करोडौँ डलर घुस लिएको अभियोगमा २० वर्षको जेल सजाय सुनाइएको थियो । त्यसपछि सोही प्रकरणसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) मुद्दामा उनले अर्को वर्ष थप सजाय पनि पाएका थिए ।

प्रतिक्रिया