बाहिरियो नेपालबाट यसवर्षको मनसुन


काठमाडौँ । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार दिउँसो मनसुन पूर्ण रूपमा बाहिरिएको जानकारी दिएको हो ।

विभागका अनुसार नेपालमा मनसुन बहिर्गमन हुने सरदर मिति अक्टोबर २ भए पनि यसवर्ष अक्टोबर १४ मा मात्रै मनसुन बाहिरिएको हो। यस हिसाबले मनसुन सरदर मितिभन्दा १२ दिन ढिलो गरी बाहिरिएको छ।

यसवर्ष असोज १७ गतेदेखि मनसुन बहिर्गमन हुन थालेको थियो। त्यस दिन सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी भूभागका अधिकांश स्थान तथा गण्डकी प्रदेशको पश्चिमी भूभागका केही स्थानबाट मनसुन बाहिरिएको विभागले जनाएको छ।

मनसुन पूर्ण रूपमा बाहिरिए पनि स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहन सक्ने विभागले जनाएको छ। त्यसैले मौसममा परिवर्तन आउन सक्ने भएकाले पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे जानकारी लिन विभागले सर्वसाधारण र सम्बन्धित निकायलाई आग्रह गरेको छ।