‘इञ्जिनियरहरूको साझा आवाज बलियो बनाउन संगठनात्मक एकता आवश्यक’


काठमाडौं । नेपालभर छरिएर रहेका स्वतन्त्र इञ्जिनियरलाई एउटै साझा उद्देश्य र पेसागत एजेन्डामा संगठित गर्दै इञ्जिनियरिङ क्षेत्रको संस्थागत उपस्थिति र नेतृत्व क्षमता थप सुदृढ गर्नुपर्नेमा जोड दिइएको छ।

नेपाल इञ्जिनियर्स एसोसिएसन मधेश प्रदेशका सभापति इञ्जिनियर गौरी पण्डितले इञ्जिनियरहरूको पेसागत हक, अधिकार, क्षमता अभिवृद्धि र नेतृत्व विकासका लागि नेशनल इन्जिनियर्स एसोसिएसनलाई केन्द्रदेखि प्रदेश तथा जिल्ला तहसम्म प्रभावकारी रूपमा विस्तार गर्नुपर्ने बताए। बदलिँदो प्राविधिक तथा व्यावसायिक परिवेशमा इञ्जिनियरहरूको साझा आवाज बलियो बनाउन संगठनात्मक एकता आवश्यक रहेको उनको भनाइ थियो।

पण्डितले आगामी दिनमा इञ्जिनियरिङ क्षेत्रसँग सम्बन्धित नीति निर्माण, पेसागत समस्या समाधान तथा नेतृत्वदायी भूमिकामा संगठनको प्रभावकारी उपस्थिति आवश्यक रहेको बताए। देशभरका स्वतन्त्र इञ्जिनियरलाई संगठनमा आबद्ध गराउँदै उनीहरूको ज्ञान, सीप र अनुभवलाई संस्थागत रूपमा उपयोग गर्न सके इञ्जिनियरिङ क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सकिने उनको धारणा थियो।

काठमाडौंमा आयोजित अन्तरक्रियामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा नेशनल इन्जिनियर्स एसोसिएसन नेपालका केन्द्रीय महासचिव तपेश्वर यादवले इञ्जिनियरिङ पेसालाई मर्यादित, जिम्मेवार र गुणस्तरीय बनाउन पेसागत दक्षता तथा व्यावसायिक आचरणमा विशेष ध्यान दिनुपर्ने बताए।

यादवले इञ्जिनियरिङ क्षेत्रलाई राजनीतिक गतिविधिको थलोभन्दा पेसागत क्षमता, ज्ञान, सीप र सेवाको क्षेत्रका रूपमा विकास गर्नुपर्ने धारणा राखे। इञ्जिनियरहरू आफ्नो पेसाप्रति उत्तरदायी हुँदै निरन्तर अध्ययन, अनुसन्धान र क्षमता विकासमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।

वर्तमान प्रतिस्पर्धात्मक बजारमा केवल शैक्षिक प्रमाणपत्रले मात्र व्यावसायिक सफलता सुनिश्चित नगर्ने उल्लेख गर्दै यादवले व्यवहारिक ज्ञान, प्रविधिको प्रयोग, समस्या समाधान गर्ने क्षमता, परियोजना व्यवस्थापन तथा गुणस्तरीय कार्यसम्पादनमा जोड दिनुपर्ने बताए। उनका अनुसार प्रविधि तीव्र गतिमा परिवर्तन भइरहेकाले इञ्जिनियरहरूले समयअनुकूल आफूलाई अद्यावधिक गर्दै निरन्तर सिकाइलाई पेसागत जीवनको अभिन्न हिस्सा बनाउन आवश्यक छ।

कार्यक्रममा सहभागी इञ्जिनियरहरूले पनि इञ्जिनियरिङ पेसासँग सम्बन्धित नीतिगत तथा व्यावसायिक विषयमा साझा धारणा निर्माण गर्न संगठनको भूमिका थप प्रभावकारी बनाउनुपर्ने बताएका थिए। उनीहरूले इञ्जिनियरहरूले भोग्दै आएका पेसागत समस्या, सेवा–सुविधा, अवसर, क्षमता विकास, रोजगारी तथा व्यावसायिक सुरक्षाका विषयलाई सम्बन्धित निकायसम्म संस्थागत रूपमा पुर्याउनुपर्नेमा जोड दिए।
सहभागीहरूले केन्द्र, प्रदेश र जिल्ला तहमा संगठन विस्तारसँगै युवा तथा नयाँ पुस्ताका इञ्जिनियरलाई समेत संगठनात्मक गतिविधिमा जोड्नुपर्ने धारणा राखे। अनुभवी इञ्जिनियरको ज्ञान र नयाँ पुस्ताको प्रविधिमैत्री क्षमतालाई एकीकृत गर्न सके संगठनले अझ प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने उनीहरूको भनाइ थियो।

त्यस्तै, इञ्जिनियरिङ क्षेत्रलाई देशको पूर्वाधार विकास, प्रविधि, उत्पादन, डिजिटल रूपान्तरण र आर्थिक विकाससँग जोडेर अघि बढाउनुपर्नेमा समेत जोड दिइएको थियो। गुणस्तरीय पूर्वाधार निर्माणदेखि नवीन प्रविधिको विकाससम्म इञ्जिनियरको भूमिका महत्वपूर्ण हुने भएकाले पेसागत दक्षता र संस्थागत क्षमता अभिवृद्धिलाई प्राथमिकता दिनुपर्ने सहभागीहरूको निष्कर्ष थियो ।

अन्तरक्रियाले इञ्जिनियरहरूबीच एकता, सहकार्य र पेसागत उत्तरदायित्वलाई थप बलियो बनाउँदै साझा हितका विषयमा समन्वयात्मक अभियान अघि बढाउने आवश्यकता औँल्याएको छ। संगठनलाई केन्द्रदेखि स्थानीय तहसम्म सुदृढ बनाउँदै इञ्जिनियरहरूको ज्ञान, सीप र अनुभवलाई राष्ट्र निर्माणमा प्रभावकारी रूपमा परिचालन गर्न सके इञ्जिनियरिङ क्षेत्रको पेसागत प्रतिष्ठासँगै देशको विकास प्रक्रियामा समेत थप योगदान पुग्ने अपेक्षा गरिएको छ।