देउवालाई सुजाताको आग्रहः ‘अब पदका लागि नलड्नुहोस्, अभिभावक बन्नुहोस्’


काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीभित्रको इतर पक्षलाई अहंकार त्यागेर मूल प्रवाहमा समाहित हुन र एकताको पक्षमा उभिन आग्रह गरेकी छन्।

शुक्रबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा कोइरालाले निवर्तमान सभापति शेरबहादुर देउवालाई पदको लडाइँ छाडेर अभिभावकीय भूमिका निर्वाह गर्न र त्याग देखाउन सुझाव दिएकी हुन्।

राष्ट्रप्रतिको जिम्मेवारीबोध गर्दै पद र गुटभन्दा माथि उठेर एकताबद्ध हुन आह्वान गरेकी उनले सभापति गगनकुमार थापा सबै पक्षप्रति लचिलो र जिम्मेवार रूपमा प्रस्तुत भइरहेको भन्दै उनको नेतृत्व शैलीको खुलेर प्रशंसा गरिन्।

बैठकमा आफ्ना पिता तथा पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई स्मरण गर्दै कोइरालाले भनिन्, ‘गिरिजाबाबुले सधैँ भन्नुहुन्थ्यो— कांग्रेस जब–जब बलियो र लोकप्रिय हुन्छ, तब–तब यसका विरुद्ध अनेक षड्यन्त्रहरू सुरु हुन्छन्। आज ठीक त्यस्तै अवस्था देखिएको छ।’

उनले बाह्य तथा आन्तरिक षड्यन्त्रका बाबजुद वर्तमान सभापति गगन थापाले नेपाली कांग्रेसलाई अत्यन्तै कुशल र परिपक्व ढङ्गले अगाडि बढाइरहेको बताइन्।

सुरुवाती दिनमा गगन थापाले पार्टी कसरी हाँक्लान् भन्ने आफूलाई केही चिन्ता लागेको स्मरण गर्दै उनले अहिले थापाले आफ्नो कार्यक्षमता र व्यवहारबाटै सफल नेतृत्व प्रमाणित गरिसकेको स्पष्ट पारिन्।

गगन थापाको सभापतित्वपछि पार्टीमा नयाँ पुस्ता र युवाहरूको व्यापक आकर्षण बढेको दाबी गर्दै उनले भनिन्, ‘अबको पाँच वर्षपछि हुने आम निर्वाचनमा कांग्रेसले स्पष्ट बहुमत ल्याउनेछ, साथै सातै प्रदेश र स्थानीय तहहरूमा समेत कांग्रेसकै वर्चस्व र बहुमत कायम हुनेमा म पूर्ण विश्वस्त छु।’

इतर समूहका नेताहरूलाई लक्षित गर्दै उनले समयको पदचाप बुझ्न र विग्रहको बाटो त्यागेर पार्टी सुदृढीकरणमा लाग्न अनुरोध गरिन्। पद र प्रतिष्ठाको व्यक्तिगत टकरावले कसैको हित नगर्ने स्पष्ट पार्दै उनले वैधानिक नेतृत्वलाई साथ दिएर पार्टीलाई थप एकताबद्ध, जुझारु र जनप्रिय बनाउन सबै तहका नेता–कार्यकर्ताहरूलाई आह्वानसमेत गरिन्।