लुम्बिनीलाई ३६ रनले पराजित गर्दै काठमाडौँको तेस्रो जित


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले तेस्रो जित निकालेको छ । शनिबार त्रिवि  क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी लायन्सलाई ३६ रले हराउँदै काठमाडौं गोर्खाजले लगातार तेस्रो जित निकालेको हो ।

काठमाडौं गोर्खाजले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्स १९.३ ओभरमा अलआउट हुँदै १२४ रनमै समेटियो । लुम्बिनी लायन्सका लागि सन्दीप जोराले सर्वाधिक ४४ रन जोडे ।

४५ बल खेलेका जोराले ३ चौका प्रहार गरे । यस्तै, अविशेष गौतम १६ रन जोडे । १६ बल खेलेका गौतमले १ चौका प्रहार गरे । यस्तै, निरोसन डिकवालाले १४ रनको योगदान दिए । ७ बल खेलेका डिकवालाले ३ चौका प्रहार गरे ।

रुवेन ट्रम्पलम्यानले ११ रन जोडे । १६ बल खेलेका ट्रम्पलम्यानले १ छक्का प्रहार गरे । कप्तान रोहितकुमार पौडेल र दिलिप नाथ खाता नै नखोलेर पभिलियन फर्किए । ओपनरद्वय डार्सी सट ४ र आसिफ शेख १ रनमा पभिलियन फर्किएका थिए । काठमाडौं गोर्खाजका लागि जहानदाद खानले सर्वाधिक ४ विकेट लिए ।

करण केसीले २ तथा साहब आलम, सन्तोष यादव र रासिद खानले समान १–१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६० रनको योगफल तयार पारेको थियो ।