काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारका कामकारबाही हिन्दी जासुसी फिल्मजस्तै अपारदर्शी र अनिश्चित रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन् । उनले सरकारका कारण मुलुकमा अन्योल र अशान्तिको वातावरण सिर्जना भएको बताए । हिन्दी जासुसी फिल्ममा हुँदै नभएका र असम्भव घटनासमेत देखाइने उल्लेख गर्दै उनले सरकारका गतिविधि पनि त्यस्तै रहस्यमय र अनिश्चित बन्दै गएको बताए ।
उनले भने, ‘तपाईंहरूले हिन्दी जासुसी फिल्म हेर्नुभयो होला, विचित्र–विचित्र हुँदै नहुने कामहरू भएको देखाउँछन् नि, त्यस्तै छ सरकारको काम गराइ । कतिबेला कुन पत्रकार समातिने हो, कुनमाथि हमला हुने हो, कता के भन्ने कुराको टुङ्गो छैन। यो सरकारकाबारेमा भन्ने दिन आउदैछन्, अहिले यत्ति भनौं ।’
प्रचण्डले विगत ३५ वर्षमा मुलुकमा केही पनि उपलब्धि नभएको भन्ने भाष्य निर्माण गरिएको भन्दै आपत्ति जनाए । गणतन्त्र, सङ्घीयता र समावेशिताजस्ता राजनीतिक उपलब्धिका साथै पूर्वाधार तथा ऊर्जा क्षेत्रमा भएका कामलाई बेवास्ता गर्न नहुने उनको भनाइ थियो ।

प्रतिक्रिया