विवाहको खर्च कटाएर समाजसेवा


काठमाडौं । जनरल मेडिसिन तथा औषधि विज्ञ विष्णु न्यौपानेले शनिबार मानव सेवा आश्रम बालाजुमा पुगेर त्यहाँ रहेका करिव १५० जनालाई निःशुल्क भोजन गराएका छन् ।

वैवाहिक वन्धनमा बाँधिएको उपलक्ष्यमा न्यौपानेले आश्रम पुगेर निःशुल्क भोजन गराएका हुन् । राजनीति र समाजसेवामा समेत सक्रिय न्यौपानेले आश्रममा प्रत्येक महिना निःशुल्क स्वास्थ्य परीक्षण गर्ने र वार्षिक करिव साढे चार लाख रुपैयाँ बराबरको औषधि उपलब्ध गराउने सम्झौतासमेत गरेका छन् ।

आश्रममा रहेका असहायहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै आफूले यस्तो अभियान संचालन गरेको उनले बताएका छन् । त्यस्तै उनले रसुवाको नौकुण्ड गाउँपालिकाका सबै सरकारी विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेका छन् ।

सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने हेतुले गाउँपालिकाका सरकारी विद्यालयका सबै विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेको बताए । नौकुण्डका सरकारी विद्यालयमा दुई हजार भन्दा बढी विद्यार्थी रहेका र उनीहरु सबैका लागि छात्रवृत्तिको बजेट छुट्याएको उनले बताए ।

लामोसमय विभिन्न स्वास्थ्य संस्था लगायत विभिन्न क्षेत्रमा काम गरेका न्यौपाने पछिल्लो समय काठमाडौंको कपनमा स्वास्थ्य क्लिनिक संचालन गर्दै आएका छन् । त्यस्तै उनले समय समयमा विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविरसमेत संचालन गर्दै आएका छन् । न्यौपानेले गतवर्ष महामारीमा कपनस्थित आफ्नो चार तले घर सरकारले चाहेमा पूर्णरुपमा निःशुल्क क्वारेन्टाइन बनाउन दिने घोषणा गरेका थिए ।