–ऋषि कट्टेल
नेपाल राजनीतिक दलहरु संसदवादी वा गैरसंसदवादी सबैमा अन्तरविरोधहरु तीव्र बनेका छन् । संसदवादीहरुमा सत्तासंघर्षको रुपमा यो देखापरेको छ भने र्गैरसंसदीय (वाम) शक्तिहरुमा वैचारिक आधारमा अन्तरविरोधहरु प्रकट भइरहेका छन् । वर्तमानमा संसदवादी कित्ताका चारवटै दलहरु रास्वपा, कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीभित्रको अन्तरविरोधहरु सार्वजनिक भइरहेका छन् । रास्वपा र नेपाली कम्युनिष्ट पार्टीको अन्तरविरोध भुसको आगोको रुपमा बढिरहेको छ भने कांग्रेस र एमाले भित्रको अन्तरसंघर्ष ज्वालाको रुपमा प्रकट भइसकेको छ ।
कांग्रेस यथार्थमा फुटिसकेको छ । विशेष महाधिवेशननै फुटको घोषणा हो । शेरबहादुर देउवा नेपाल फर्कने वित्तिकै तीन वटा कुरा भने १) हामीमाथि अन्याय भएकोछ २) अदालत छ न्याय पाउँछु र ३) ज्ञानेन्द्रले त मलाई सकेनन् भने अरुले सक्छ ? यी भनाइहरुले के प्रष्ट गर्छ भने उनी अदालतवाट आफ्नो पक्षमा फैसला आउने कुरामा ढुक्क देखिन्छन् । उनीमाथि अन्याय कसले गर्यो ? गगन थापा र वर्तमान सत्तासिनहरुले अर्थात् नयाँ शक्तिकेन्द्रले । उनले यिनलाई चुनौती दिए म सँग आत्मसमर्पण गर्दैनौ भने तिमिहरुलाई ज्ञानेन्द्र जस्तो बनाइदिन्छु ।
भाद्र २४मा कुटाइखाएर कार्यवाहक दिएर उपचारको वहानामा भागेका देउवा परिवारलाई बाहिरै राखेर स्वदेश फर्केर यत्रो हुंकार गर्ने साहस कहाँवाट आयो ? उत्तर प्रष्टछ उनले दिल्लीसँगको कनेक्सन मिलाए र हङकङ बसेर उत्तरसँगको सद्भाव लिए । यदि गगन थापाले आत्मसमर्पण नगरे गगन हार्ने वा पार्टी फुट्ने निश्चित छ ।
दोस्रो पार्टी एमाले । गगनको विद्रोहले हौसिएका शंकर योगेशहरुलाई ओलीले आवारा र अराजकको संज्ञामात्र दिएनन् अनुशासित भएर पार्टीमा बस्ने वा छोडेर हिँड्न धम्कीनै दिए । उनमा पनि यो फुर्ति कुनबेला आयो भने जब उनले दाहालसँग सझौता गरे । अर्थात् मोदी–ओली सम्झौता भयो र देउवा आफ्नो मिसनका साथ देश फर्के । अब योगेश शंकर अगाडि ओलीकै पाउमोल्ने वा निस्कने अर्को बाटो छैन । रास्वपा भित्रपनि अमरेस मनिषहरु त्यसै प्रकट भइरहेका छैनन् । यि सबै घटनाहरुले ती दलहरुभित्र विकास भइरहेको अन्तरवरोधको जग के रहेछ भन्ने प्रष्ट गर्दछ । सारमा देश अहिले इण्डो–अमेरिकी शक्तिकेन्द्रको होडवाजीको अखडा बनिरहेछ र संसदवादी दलहरु भित्रको अन्तरविरोधको जग यही हो । यही आधारमा उनीहरुमा ध्रुवीकरण भइरहेछ ।

प्रतिक्रिया