‘नासा स्पेस एप्स् च्यालेञ्ज २०२०’ को अन्तिममा नेपालका ११ समूह



काठमाडौं । सरकारले जारी गरेको विज्ञान, प्रविधि तथा नव प्रवर्तन नीति २०७६ को मर्म अनुरुप नेपालले ‘नासा स्पेस एप्स् च्यालेञ्ज २०२०’ मा भाग लिएको छ । अमेरिकी वैज्ञानिक संस्था नासाको आह्वानमा विश्वका २०० स्थानमा भएको यो प्रतियोगितामा नवप्रवर्तनमा रुचि राख्ने करिब ३५० भन्दा बढी नेपाली युवाले भाग लिएका थिए ।

नेपालमा यो कार्यक्रमको संयोजन नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले गरेको थियो । सात प्रदेशको आठ स्थानमा भएको कार्यक्रममा ५० समूहमा युवा सहभागी भएका थिए । देशव्यापी अन्तिम मूल्याङ्कनका लागि २५ समूह छानिएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो । यसबाट विश्वव्यापी अन्तिम मूल्याङ्कनका लागि ११ समूह छानिएको छ ।

समूहमा रहेका युवाले विश्वव्यापी रुपमा रहेका समस्याका बारेमा आफ्ना सोच प्रस्तुत गरेका थिए । विश्वव्यापी रुपमा रहेका स्वास्थ्यमा आम मानिसको पहुँच, मङ्गल ग्रहमा कसरी जाने ?, मङ्गल ग्रहमा कसरी बस्ती बसाल्ने ?, कोभिड–१९ सँग कसरी लड्ने ?, नासाले गरेका कामका बारेमा कसरी विश्वव्यापी रुपमा जानकारी दिने ? आउने पुस्ताका लागि पृथ्वीलाई कसरी जोगाउन सकिन्छ ?, पृथ्वी र अन्तरिक्षलाई कसरी जोड्न सकिन्छ ? लगायत २१ विषयमा युवाले आ–आफ्ना सोच अघि सारेका थिए ।

सोसाइटीले ४८ जना विशेषज्ञ निर्णायकको निर्णयका आधारमा ११ समूहले यी विषयमा राखेका समाधानका नवप्रवर्तनकारी सोच नासाको कार्यालयमा आजै पठाएको अध्यक्ष भट्टराईले जानकारी दिए  ।

वाग्मती प्रदेशको ललितपुर र धुलिखेल एवं अन्य प्रदेशको प्रदेश राजधानीमा यो खोज भर्चुअल माध्यमबाट सञ्चालन गरिएको थियो । नेपाली भूभागबाट भएको खोजीमा भारत, इथियोपिया, जर्जिया, इटाली, इण्डोनेसिया, पाकिस्तान र अल्जेरिया गरी अन्य सात देशका मानिसले पनि भाग लिएका थिए । प्रतियोगितामा भाग लिनेमा आधा महिला थिए ।

असोज १७ गते (अक्टोबर ३ तारिख) का दिन बिहान ९ बजेदेखि असोज १८ गते (अक्टोबर ४ तारिख ) राति ११ः५९ बजेसम्म विद्युतीय माध्यमबाट सोचको खोज गरिएको थियो । निर्णायकमण्डलले पनि भर्चुअल माध्यमबाट नै मूल्याङ्कन गरेका थिए ।

सोमबार भर्चुअल माध्यमबाट आयोजित समापन कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विज्ञान तथा प्रविधि तर्फका सचिव डा सञ्जय शर्माले विज्ञान प्रविधिका क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न यस्ता कार्यक्रमले सहयोग गर्ने भएकाले यसलाई प्रवद्र्धन गर्ने सरकारको नीति रहेको बताए । अष्ट्रियाका लागि नेपाली राजदूत प्रकाशकुमार सुवेदीले संयुक्त राष्ट्र सङ्घका विज्ञान प्रविधिसम्बन्धी संस्थामा नेपालको सहभागिता नहुँदा विज्ञान कूटनीतिमा पछि परेको अनुभव सुनाए ।

नेपाल संयुक्त राष्ट्र सङ्घीय अन्तरिक्ष मामिला हेर्ने कार्यालय (युनूसा) को सदस्य नहुँदा देशकै नाममा भूउपग्रह समेत राख्न नसकेको उनको भनाई थियो । अष्ट्रियामै रहेको त्यो संस्थाको नेपाल छिटो सदस्य हुनुपर्नेमा राजदूत सुवेदीको जोड थियो । कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधवप्रसाद ढुङ्गेल, निर्णायक आस्था शर्मा, दीनेश भुजु, डा पुष्पराज आचार्य, अञ्जना सिंह लगायतले प्रतियोगितामा विज्ञान प्रविधि क्षेत्रमा पुर्याउने योगदानका विषयमा प्रकाश पारेका थिए । नासाले सन् २०१२ देखि यो प्रतियोगिता शुरु गरेको थियो ।

नेपालले सन् २०१३ देखि प्रतियोगितामा भाग लिन थालेको हो । त्यसबेला काठमाडौँ उपत्यकामा केन्द्रित भएर मात्र प्रतियोगिता गरिन्थ्यो । सन् २०१७ सम्म अप्रिलमै प्रतियोगिता आयोजना गरियो । सन् २०१८ देखि अक्टोबरमा प्रतियोगिता आयोजना गर्न थालेपछि .त्यस समयमा नेपालीको महान् चाड बडादशैँ पर्ने भएकाले नेपालले भाग लिएन ।

सन् २०१९ देखि भने सोसाइटीको नेतृत्वमा पुनः नेपालले भाग लिन थालेको हो । गत वर्ष सोसाइटीकै संयोजनमा काठमाडौँ र विराटनगरमा प्रतियोगिता आयोजना गरिएको थियो । यस वर्ष सातै प्रदेशमा प्रतियोगिता गरी जल्दाबल्दा विश्वव्यापी विषयमा नेपाली युवाले विचार राखेका छन् ।

यस वर्ष राम्रा विचार आएकाले डिसेम्बरमा हुने अन्तिम निर्णयबाट नेपालले पनि कुनै स्थान पाउने आशा गरिएको निर्णायक मण्डलको संयोजकका रुपमा समेत काम गर्नुभएको सोसाइटीका अध्यक्ष भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हामीले आफूलाई चौकीदारको भन्दा माथिल्लो हैसियत नै देखेनौं

डा. युवराज संगौला । २०४२ साल । भारतको पटना विश्वविद्यालयको कानुन संकायमा हामी

वास्तु र व्यवहार

भरतमणि ज्ञवाली । के हो वास्तु ? वास्तुको जन्म भाद्र कृष्णपक्षको तृतीया तिथिमा

प्रहरी नायब निरीक्षकको जागिर छोडेर गाउँमै दुग्ध व्यवसाय सुरु गरेका वियश राई

सोलुखुम्बु । ‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई

हाम्रा मनोवैज्ञानिक समस्या

डा. युवराज संग्रौला । हाम्रा केही मनोवैज्ञानिक समस्या छन् । खासगरि अहिले ‘व्यापक