काठमाडौँ । राष्ट्रियसभाका सांसद डा अन्जान शाक्यको नयाँ म्युजिक भिडियो ‘तिमी छौँ त त्यो याद पनि मीठो छ’ सार्वजनिक भएको छ ।
‘रोज’ ‘बहार’ ‘श्रद्धापुष्प’, ‘अन्जानपथ’ जस्ता एकल एल्बम र अन्य दजर्न बढी ‘कलेक्सन एल्बम’का गायिका शाक्यको यो गीतका शब्द राजी किपूका हुन् भने सङ्गीत हरि सायमीको छ । यो गीत ‘स्ट्रिङ रेकर्डिङ स्टुडियो’ले उत्पादन गरेको हो ।
आजभन्दा करिब २३ वर्षअघि ‘शिरीष’ एल्बम निकालेकी शाक्यको केही महिनाअघि मात्रै ‘मेरो गीत भित्र’ म्युजिक भिडियो सार्वजनिक भएको थियो । इजरालयलका लागि पूर्वनेपाली राजदूत शाक्य सो जिम्मेवारीबाट फर्किएपछि पुनः गीत÷सङ्गीतको क्षेत्रमा फर्किएकी हुन् ।
नयाँ म्युजिक भिडियोमा पछिल्लो समय बढ्दै गएको ‘एआई’को प्रयोगलाई समेत भरपुर उपयोग गरेको शाक्यले जानकारी दिइन् । म्युजिक भिडियोमा बालापनदेखिको अबोध प्रेम नै ठूलो भएपछि सफलतामा परिणत भएको कथालाई गीतका माध्ययमबाट देखाउन खोजिएको छ ।
गीतका शब्दको भावले पनि त्यसैलाई प्रतिनिधित्व गरेका छन् । शब्दमा बाल्यकालदेखिको अवोध प्रेम प्रकाशको किरण बनेर छाइदिन र जुनी–जुनीसम्म वसन्तयाम जस्तै अर्थात मधुमास बनेर रहिरहोस् भन्ने अपिल गीतमा देखिन्छ । भिडियोमा पनि गीतका शब्दलाई न्याय हुने गरी संयोजन गरेको देखिन्छ । म्युजिक भिडियोमा एआईको प्रयोग रावी शाक्यले गरेका छन् ।

प्रतिक्रिया