चीनप्रति भारतको चासोलाई बालेनले कसरी हेर्लान् ?


–रजनीश कुमार, बीबीसी हिन्दी

नेपालका अन्य प्रधानमन्त्रीको तुलनामा बालेन साहको भारत भ्रमण कति फरक रह्यो ? यो प्रश्नको जवाफ खोज्दा अर्को प्रश्न पनि खडा हुन्छ– बालेन साह अन्य प्रधानमन्त्रीभन्दा कति फरक छन् ? बालेन साह पूर्ण बहुमतसहित सत्तामा आएका हुन् । उनी जुन पार्टीमार्फत सत्तामा पुगे, त्यसमा यसैवर्ष निर्वाचन हुनुभन्दा केही समयअघि मात्रै आबद्ध भएका थिए । बालेन साह कुनै राजनीतिक आन्दोलनबाट उदाएका नेता होइनन् । उनी र्यापरबाट काठमाडौंका मेयर हुँदै प्रधानमन्त्री बनेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेपाली राजनीतिमा भएको उदय असाधारण मानिन्छ । सन् २०२२ जुनमा स्थापना भएको उक्त पार्टीले सोही वर्ष नोभेम्बरमा भएको पहिलो आमनिर्वाचनमै प्रतिनिधिसभाका २१ सिट जितेको थियो । बालेन साह स्वयं पनि स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी राजनीतिमा प्रवेश गरेका थिए । उनले सन् २०२२ मेमा काठमाडौं महानगरपालिकाको मेयर पदमा विजय हासिल गरेका थिए।यसवर्ष मार्च ५ मा भएको निर्वाचनमा रास्वपाले प्रतिनिधिसभाका २७५ मध्ये १८२ सिट जित्यो । तीमध्ये १२५ सिट प्रत्यक्ष निर्वाचन प्रणालीबाट र ५७ सिट समानुपातिक प्रतिनिधित्व प्रणालीबाट प्राप्त भएका थिए।

भारतका लागि नयाँ अनुहार थिए बालेन

बालेन साह भारतका लागि पूर्णतः नयाँ राजनीतिक पात्र थिए। प्रधानमन्त्री बनेलगत्तै भारतले उनलाई भ्रमणको निम्तो दिएको थियो। तर उनले त्यसप्रति तत्काल कुनै विशेष उत्साह देखाएनन् । नेपालस्थित भारतीय राजदूतले नयाँ प्रधानमन्त्रीलाई भेटेर बधाई दिने परम्परा रहँदै आएको थियो। तर तत्कालीन भारतीय राजदूत नवीन श्रीवास्तवले बालेन साहलाई तत्काल भेट्न सकेनन्। नेपाली सञ्चारमाध्यममा बालेनले कूटनीतिज्ञहरूसँग प्रत्यक्ष भेट नगर्ने समाचारसमेत आएका थिए ।

बालेनले सुरु गरे नयाँ अभ्यास

नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको सरकारका पालामा प्रधानमन्त्रीले पदभार ग्रहण गरेको केही घण्टाभित्रै विदेशी राजदूतहरूसँग भेटघाट गर्ने प्रचलन थियो। तर बालेन साहले त्यस परम्परालाई निरन्तरता दिएनन् । भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्याय बालेन साहको भारत भ्रमणलाई अन्य प्रधानमन्त्रीको भ्रमणभन्दा कसरी फरक देख्छन् ?

उपाध्याय भन्छन्, ‘हेर्नुहोस्, बालेनका बारेमा निश्चित रूपमा केही भन्न सजिलो छैन। उनी न सञ्चारमाध्यमसँग कुरा गर्छन्, न संसद्मा धेरै बोल्छन्। यहाँसम्म कि आफ्ना मन्त्रीहरूसँग पनि धेरै भेटघाट गर्दैनन्। यस्तो अवस्थामा उनले विदेश नीतिबारे के सोचिरहेका छन् भन्ने विषयमा अनुमान मात्रै गर्न सकिन्छ।’ उनका अनुसार बालेन नयाँ पार्टीबाट निर्वाचन जितेर आएका हुन्। कम्युनिस्ट पार्टीहरूमा जस्तो भारत र पश्चिमा मुलुकको विरोध गर्नुपर्ने कुनै वैचारिक बाध्यता उनीसँग छैन।

उपाध्याय भन्छन्, ‘पूर्ण बहुमतको सरकार छ र जनताको विश्वास पनि कायम छ। यस्तो अवस्थामा भारतले पनि यो सरकारसँग सीधै संवाद गर्नुपर्ने हुन्छ। गठबन्धन सरकारजस्तो प्रधानमन्त्रीसँग कुरा नमिले अर्को सहयोगी दलसँग संवाद गर्ने विकल्प भारतसँग छैन।’

नेपालका प्रमुख अंग्रेजी दैनिकमध्ये एक ‘द काठमाडौं पोस्ट’का वरिष्ठ पत्रकार अनिल गिरी पनि बालेनको भारत भ्रमणलाई अन्य प्रधानमन्त्रीको भ्रमणभन्दा फरक मान्छन् । उनी यसपटकको भ्रमणको मुख्य भिन्नता निमन्त्रणापछि भएको भ्रमणलाई मान्छन्। उनका अनुसार यसअघि नेपालका प्रधानमन्त्रीले पदभार सम्हालेपछि आफैँ नयाँदिल्ली भ्रमण गर्ने गरेका थिए। तर बालेन निमन्त्रणापछि भारत पुगेका हुन्।


गिरी भन्छन्, ‘बालेन साह र रास्वपासँग भारतलाई काम गरेको अनुभव छैन। यसअघि रास्वपा सभापति रवि लामिछाने भारत आएका थिए र उनलाई भारतीय जनता पार्टीको मुख्यालयमा अप्रत्याशित रूपमा स्वागत गरिएको थियो। त्यसपछि बालेन साहको भ्रमण भएको हो।’उनका अनुसार अन्य प्रधानमन्त्रीजस्तो बालेन भारत भ्रमणका लागि हतारमा थिएनन्। पर्याप्त समय लिएपछि मात्रै उनले भ्रमण गर्ने निर्णय गरेका थिए ।

चीनप्रति भारतको चासोलाई बालेनले कसरी हेर्लान् ?

अनिल गिरीका अनुसार बालेन साह कुनै वैचारिक आन्दोलनमार्फत सत्तामा आएका होइनन्। त्यसैले नेपालका कम्युनिस्ट पार्टीहरूमा जस्तो चीनप्रति वैचारिक निकटता उनीसँग नहुन सक्छ। तर उनीमाथि जनतासमक्ष परिणाम देखाउनुपर्ने दबाब भने छ । गिरी भन्छन्, ‘मेरो विचारमा नेपालमा चीन र कम्युनिस्ट पार्टीहरूको जरा बलियो बनाउन भारतकै नीतिले पनि भूमिका खेलेको छ। भारतले सन् २०१५ मा गरेको नाकाबन्दी नेपाली सर्वसाधारणका लागि ठूलो संकट बनेको थियो। त्यसको परिणामस्वरूप नेपाली जनता चीनतर्फ हेर्न थाले र कम्युनिस्ट पार्टीहरूले भारतविरोधी नेपाली राष्ट्रवादलाई बढावा दिने अवसर पाए।’

नेपालका चर्चित कूटनीतिज्ञ तथा लेखक लोकराज बराल भने बालेन साहसँग तालमेल मिलाउन भारतका लागि सहज नहुने बताउँछन्। बराल भन्छन्, ‘बालेन आफ्ना मन्त्रीहरूसँग पनि मन्त्रिपरिषद् बैठकमा मात्रै भेट्छन् । सञ्चारमाध्यमसँग उनको सम्पर्क छैन। कुनै पनि लोकतान्त्रिक संस्थाले प्रभावकारी रूपमा काम गरिरहेको देखिँदैन। सत्ताको केन्द्र बालेन नै हुन्। यस्तो अवस्थामा उनको मनस्थिति कस्तो छ भन्ने कुराले धेरै अर्थ राख्छ।’

यद्यपि, पछिल्ला आठ महिनामा बालेनले नेपालको वास्तविक अवस्थाबारे बुझिसकेको हुनुपर्ने उनको भनाइ छ । बराल भन्छन्, ‘भारतले नेपाललाई १.६ अर्ब अमेरिकी डलरको आर्थिक प्याकेज दिने घोषणा गरेको छ। तर नेपालले त्यसको कति उपयोग गर्न सक्छ भन्ने विषय अझ महत्वपूर्ण हो।’

किन छोटो राखे बालेनले भारत भ्रमण ?

बालेन साहको भारत भ्रमणलाई कभर गर्न नयाँदिल्ली पुगेका नेपालका एक सम्पादकले नाम उल्लेख नगर्ने सर्तमा नेपाली प्रधानमन्त्रीले जानाजान भ्रमण छोटो राखेको बताएका छन् । उनका अनुसार भारतले तीनदिने भ्रमणको अपेक्षा गरेको थियो। तर बालेन नोभेम्बर २२ को साँझ भारत पुगे र नोभेम्बर २३ को साँझ नै स्वदेश फर्किए । सामान्यतया नेपालका प्रधानमन्त्रीको भारत भ्रमण तीन दिनको हुने गरेको थियो। यसअघि प्रधानमन्त्रीहरूले भारतमा नागरिक समाजका प्रतिनिधिसँग भेटघाट गर्ने र चर्चित स्थानहरूको भ्रमणसमेत गर्ने गरेका थिए । तर बालेनले आफ्नो भ्रमणलाई सीमित र छोटो राखे।

बालेनका निर्णयले बढाएको आशंका

पूर्ण बहुमत प्राप्त गरे पनि बालेन साह सरकारले अध्यादेशमार्फत कानुन ल्याउने प्रयास गरेको छ। संवैधानिक परिषदमा निर्णय प्रक्रियासम्बन्धी व्यवस्था परिवर्तन गर्दै नयाँ प्रधानन्यायाधीश चयनमा प्रधानमन्त्रीलाई अन्तिम अधिकार दिने व्यवस्था गरिएको थियो । यसले न्यायपालिकामाथि कार्यपालिकाको नियन्त्रण बढ्न सक्ने आशंका उत्पन्न गरेको छ । त्यस्तै, अर्को अध्यादेशका आधारमा सरकारले करिब १ हजार ५०० वरिष्ठ कर्मचारीलाई उनीहरूको स्थानमा वैकल्पिक नियुक्तिको योजना नबनाई हटाउने योजना अघि सारेको थियो । यसले नागरिक उड्डयनको नियमन र विद्यालय तहका परीक्षा सञ्चालनजस्ता महत्वपूर्ण काम प्रभावित हुन सक्ने चिन्ता व्यक्त गरिएको थियो।

यसअघि नेपाली सञ्चारमाध्यममा आएका समाचारअनुसार ३६ वर्षीय प्रधानमन्त्री बालेन साहले भारतका विदेश सचिव विक्रम मिस्रीसँग भेट गर्न अस्वीकार गरेका थिए। उनको अस्वीकारपछि मिस्रीले नेपालको भ्रमण रद्द गर्नुपरेको थियो । रोचक कुरा के छ भने बालेनले सुरुमा भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणा स्वीकार गरेका थिए । उनले चीन र अमेरिकाका उच्च अधिकारीहरूसँगको भेटसमेत अस्वीकार गरेका थिए। यसबाट नेपालका अन्य दुई महत्वपूर्ण साझेदार मुलुक पनि असन्तुष्ट बनेको समाचार सार्वजनिक भएको थियो।

यसअघि मार्चमा नयाँ सरकारले आफ्नो कार्यकालको सुरुवातमै केही राजनीतिक नेताहरूलाई कानुनी आधारमाथि प्रश्न उठिरहेका अवस्थामा पक्राउ गरेर गरेको थियो । त्यसपछि सरकारले नदी किनारका सुकुम्बासी बस्तीलाई बासिन्दाको पुनर्वासको योजना नबनाई भत्काएको थियो ।

लोकराज बराल भन्छन्, ‘बालेन साहलाई आफ्नो सरकारबाट कुनै गल्ती नै हुन सक्दैन भन्ने लाग्छ। पुराना राजनीतिक दलहरूको दशकौँ लामो कुशासन र भ्रष्टाचार देखेका जनताले उनलाई शंकाको सुविधा दिन चाहेका छन्। सायद त्यसो गर्नु गलत पनि नहोला। तर कहिलेसम्म ?’

उनका अनुसार बालेनले अन्ततः हरेक सरकारलाई आवश्यक पर्ने वर्गहरूलाई आफैँबाट टाढा बनाइरहेका छन्। त्यसमा सञ्चारमाध्यम, बुद्धिजीवी वर्ग, विपक्षी दल र महत्वपूर्ण विदेशी साझेदारहरू पर्छन् ।