लेखा समितिले माग्यो सुनकोशी–मरिण ठेक्का रद्दका कागजात


काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्दबारेका कागजात ७ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ ।

समितिले मंगलबार यस विषयमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र ऊर्जा मन्त्रालयका अधिकारीसँग छलफल गरेपछि सात दिनभित्र कागजात उपलब्ध गराउन निर्देशन दिएको हो ।

समिति सभापति भरतबहादुर खड्काले सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिए । कागजात प्राप्त भएपछि अध्ययन गरी थप छलफल अघि बढाइने सभापति खड्काले बताए । टेन्डरका सबै प्रक्रिया पूरा भइसकेको अवस्थामा अन्तिम समयमा ठेक्का रद्द गरिएकाले त्रुटिपूर्ण रहेको भन्दै समितिमा उजुरी परेको थियो ।

बैठकमा जलस्रोत तथा सिंचाइ विभागका महानिर्देशक दिनेश रजौरियाले रजौरियाले ठेक्का प्रक्रिया रद्द गर्ने निर्णय कानुनसम्मत रहेको दाबी गरेका छन् ।

आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३ को उपदफा (२) अनुसार ठेक्का प्रक्रिया रद्द गरिएको जनाएको थियो । तर, ठेक्का रद्द गर्नुको विस्तृत कारण भने सूचनामा खुलाइएको थिएन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भने यसअघि ठेक्का प्रक्रिया प्रचलित ऐन तथा नियमावलीविपरीत भएको पाइएपछि रद्द गरिएको जनाएको थियो ।