काठमाडौं । वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएका तर उपस्थित नभएका व्यक्तिहरूको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाइने भएको छ ।
वैदेशिक रोजगार विभागले प्रशासन, योजना तथा सुशासन शाखामार्फत मुद्दा तथा अनुसन्धान शाखालाई पत्राचार गर्दै ठगीमा प्रयोग भएका बैंक खाताहरू प्रचलित कानुनअनुसार रोक्का गर्ने प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।
विभागको मंसिर ४ गतेको पत्रमा वैदेशिक रोजगार ठगीसम्बन्धी जाहेरीको अनुसन्धानका क्रममा ठगीमा प्रयोग भएका बैंक खाताहरू कानुनविपरीत नहुने गरी रोक्का गर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।
विभागले यसअघि मिति कात्तिक १९ गते जारी गरेको सूचनाअनुसार पक्राउ पुर्जी जारी भएका व्यक्तिहरूलाई उपस्थित हुन पत्राचार गरेको थियो । उक्त पत्राचारपछि पनि उपस्थित नभएका व्यक्तिहरूको सूची तयार गरी बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्र पठाउने प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ ।
विभागले ३५ दिनको अवधि पूरा भएपछि उपस्थित नभएका व्यक्तिहरूको बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकमा पत्राचार गर्ने प्रक्रिया सुरु गर्नसमेत अनुरोध गरेको छ ।

प्रतिक्रिया