हेटौँडा । हरिबोधिनी एकादशीका दिन त्रिखण्डेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने मेलालाई मध्यनजर गर्दै मकवानपुर प्रशासनले काठमाडौँ जाने यात्रुवाहक सवारीसाधनलाई कान्तिलोकपथ प्रयोग गर्न आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले बिहीबार सूचना जारी गर्दै मंसिर ४ गते शुक्रबार हेटौँडा–भैँसे–भीमफेदी–कुलेखानी हुँदै काठमाडौं जाने यात्रुवाहक सवारीसाधनलाई कान्तिलोकपथ प्रयोग गर्न अनुरोध गरेको हो ।
भीमफेदी गाउँपालिका–१ स्थित त्रिखण्डीमा रहेको प्रसिद्ध त्रिखण्डेश्वर महादेव मन्दिर परिसरमा हरिबोधिनी एकादशीका अवसरमा मेला लाग्ने भएकाले उक्त क्षेत्रमा श्रद्धालु भक्तजनको भीडभाड हुने प्रशासनले जनाएको छ ।
मन्दिर क्षेत्रमा पुग्ने सडक साँघुरो र भौगोलिक रूपमा जोखिमपूर्ण रहेकाले यात्रुवाहक सवारीसाधनको सहज, सुरक्षित तथा व्यवस्थित आवागमनका लागि वैकल्पिक मार्गका रूपमा कान्तिलोकपथ प्रयोग गर्न आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया