एसिया–प्रशान्त आर्थिक सहकार्यमा चीन वकालतकर्ता, प्रवर्द्धक र अग्रणी : राष्ट्रपति सी


सेन्जेन (चीन) । चिनियाँ राष्ट्रपति सी चिनफिङले एसिया–प्रशान्त आर्थिक सहकार्य (एपेक) मा चीन वकालतकर्ता, प्रवर्द्धक र अग्रणीको भूमिकामा रहेको बताएका छन् ।

दक्षिण चीनको गुआङडोङ प्रान्तस्थित सेन्जेनमा बिहीबार आयोजित एपेकका ३३औँ आर्थिक नेताहरूको बैठकलाई सम्बोधन गर्दै उनले एसिया–प्रशान्त समुदायलाई थप सुदृढ बनाउन सबै पक्षसँग सहकार्य गर्न चीन तयार रहेको बताए ।

सीले क्षेत्रीय समुदायको विकासका लागि बलियो आर्थिक तथा व्यापारिक सम्बन्ध आवश्यक रहेको उल्लेख गर्दै व्यापार र लगानीलाई सहज बनाउने, डिजिटल प्रविधिको विकासलाई तीव्रता दिने तथा व्यापारिक अवरोध घटाउने प्रयास गर्न सबै पक्षलाई आग्रह गरे ।

उनले क्षेत्रीय सम्पर्क सञ्जाल विस्तार गर्न पूर्वाधार विकास, नीति तथा नियमबीच समन्वय र जनस्तरको आदानप्रदानलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । यसबाट सदस्य राष्ट्रका नागरिकबीच आपसी समझदारी र निकट सम्बन्ध विस्तार हुने उनको भनाइ थियो ।

नवप्रवर्तनलाई क्षेत्रीय विकासको महत्त्वपूर्ण आधारका रूपमा प्रस्तुत गर्दै सीले डिजिटल पूर्वाधार निर्माण तथा कृत्रिम बौद्धिकता (एआई) को व्यापक प्रयोगलाई प्रवर्द्धन गर्न थप प्रयास आवश्यक रहेको बताए ।

उनले क्षेत्रीय अर्थतन्त्रलाई ऊर्जा तथा खाद्य सुरक्षा सुनिश्चित गर्न, सीमापार भ्रष्टाचार नियन्त्रणसम्बन्धी शासन व्यवस्था सुदृढ बनाउन तथा हरित र न्यून कार्बनयुक्त अर्थतन्त्रतर्फको रूपान्तरणमा सहयोग बढाउन पनि आह्वान गरे । त्यसैगरी, नागरिकको जीवनस्तर सुधार गर्न तथा मानव पुँजीमा लगानी बढाउन सबै पक्षले ध्यान दिनुपर्नेमा उनले जोड दिए ।