सरकारको कामकारबाहीबारे छलफल गर्न कांग्रेसको अगुवाइमा प्रतिपक्षी दलहरुको बैठक बस्दै


काठमाडौँ । नेपाली कांग्रेसले सरकारको कार्यशैलीको विषयमा प्रतिपक्षी दलहरूसँग छलफल गर्ने भएको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको आह्वानमा आज दिउँसो १ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो ।

बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी(नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आमन्त्रण गरिएको छ ।
कांग्रेसका अनुसार बैठकमा सरकारको जवाफदेहिता, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको भूमिका, पत्रकार पक्राउ तथा सञ्चारमाध्यममा प्रहरी परिचालन गरिएको छलफल हुनेछ ।

त्यसैगरी, विभिन्न घटनासँग सम्बन्धित छानबिन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग र अनुसन्धानलाई निष्पक्ष तथा पारदर्शी बनाउनुपर्ने विषयमा पनि छलफल हुने संसदीय दलका नेता आङ्देम्बेले जानकारी दिएका छन् ।