काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले पछिल्लो ६ महिनामै दुई पटक अनशन बस्नुपर्ने अवस्था आउनु राम्रो सन्देश नभएको बताएकी छन्।
सामाजिक संजालमार्फत कार्कीले डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै सरकारले तत्काल वार्ता गरेर सहमति कार्यान्वयन गर्नुपर्ने माग गरेकी छन्।
उनले डा. केसीको चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको अभियानलाई नजिकबाट बुझ्ने र समर्थन गर्ने व्यक्तिहरू नै सरकारको मन्त्रिपरिषद्मा रहँदा पनि यस्तो अवस्था आउनु दुःखद भएको बताएकी हुन्।
कार्कीले अघिल्लो सत्याग्रहका क्रममा यही सरकारले गरेका सहमति कार्यान्वयन हुन नसक्नु गम्भीर प्रश्न भएको उल्लेख गरेकी छन्।
उनका अनुसार डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। रगतमा चिनीको मात्रा र रक्तचाप घट्नुका साथै मुटु तथा मांसपेशी दुख्ने समस्या देखिएको स्वास्थ्यसम्बन्धी जानकारी प्राप्त भएको उनले बताएकी छन्।
‘तत्काल वार्ता गरी सहमति गरियोस् र त्यसको कार्यान्वयन गरियोस्,’ कार्कीले भनेकी छन्। उनले आगामी दिनमा यस्ता अवस्था आउनुअघि नै समस्या पहिचान गर्ने, छलफल गर्ने र आवश्यक समन्वय गर्ने व्यवस्था मिलाउन पनि सरकारलाई आग्रह गरेकी छन्।सत्य र निष्ठाको प्रतीकका रूपमा रहेका डा. केसीले वृद्धावस्थामा समेत पटक–पटक अनशन बसेर आफ्नो इमानको परीक्षा दिनुपर्ने अवस्था सिर्जना नगर्न कार्कीले सरकारलाई सचेत गराएकी छन्।

प्रतिक्रिया