काठमाडौं । मलेसिया र साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूतको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गर्न अस्वीकार गरेको छ।
समितिको बुधबार बसेको बैठकले मलेसियाका लागि प्रस्तावित राजदूत चूडामणि खरेल र साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारको नाम अस्वीकृत गरेको हो।
खरेलमाथि संसदीय सुनुवाइका क्रममा स्वार्थको द्वन्द्व, आर्थिक लेनदेन तथा स्थानीय तहमा अनुदान मिलाइदिने भन्दै रकम लिएको लगायतका विषयमा प्रश्न उठेका थिए। उनीविरुद्ध परेका उजुरी र सुनुवाइका क्रममा उठेका विषयमाथि अध्ययन गरेपछि समितिले उनको नाम अनुमोदन नगर्ने निर्णय गरेको हो।
त्यसैगरी, साउदी अरबका लागि प्रस्तावित राजदूत सुनारको नाम पनि समितिबाट अस्वीकृत भएको छ। यससँगै दुवै प्रस्तावित राजदूतको नियुक्ति प्रक्रिया अघि बढ्न सकेन।
बैठकले १३ मध्ये १० जनाको नाम अनुमोदन गरेको छ । बैठकले भारतका लािग डा. निश्चलनाथ पाण्डे, चीनका कल्याणराज शर्मा, अमेरिकाका लागि चीरनजंग थापा, बेलायतका गौरवशमशेर जबरा, जर्मनीका लागि सरु जोशी, इजरायलका लागि सुरेश कुमार कर्ण, ओमानका लागि पद्माक्षी राणा, दक्षिण कोरियाका लागि संगम श्रेष्ठ, स्पेनका लागि प्राप्ति शेरचन र श्रीलंकाका लागि डा. मञ्चला झाको नाम अनुमोदन गरेको छ ।

प्रतिक्रिया