भविष्यका हामी सबै सुकुम्बासी


-डा. जीवन क्षेत्री

सुकुम्बासी बस्तीमा डोजर प्रकरणले सरकारको मात्र हैन हामी नागरिकहरुको मनोविज्ञानलाई पनि उदांगो बनाइदिएको छ । कसरी त भनेर बुझ्न साथी रामजी रामको फेसबुकमा गएर हेर्नुहोला । फेसबुक चलाउन थाले यताका १५ वर्षमा मैले जति गाली र अपमान व्यहोरेको छु, त्यसभन्दा धेरै गुणा आक्रमण उनले एकै दिन व्यहोरेका छन् । उनको जम्माजम्मी अपराधः रातारात विस्थापित बनाइएकाहरुप्रति करुणा र समानुभुति जनाउनु । सत्तालाई दुई चार प्रश्न सोध्नु ।

अहिले त्यसरी भुमिहीनहरुप्रति संवेदनहीनता देखाउने र रामजी रामहरुलाई आक्रमण गर्नेहरुसित मेरो चित्तदुखाइ त छ तर सँगै एक किसिमको दयाभाव पनि छ । एकछिन धैर्य गरेर यो पोस्ट पुरा पढ्नोस् है त, उनीहरुको हालत कसरी दयनीय छ भनेर बुझ्न । पृथ्वी पूर्वऔद्योगिक कालमा भन्दा १.५ डिग्री सेल्सियसले तातिसक्यो । सन् २१०० सम्म तापक्रम वृद्धिले ३ डिग्री नाघ्ने अब निश्चितप्रायः छ ।

यो चित्र एकपल्ट राम्रोसँग हेर्नुस् । तापक्रम वृद्धि जम्मा २.७ डिग्री मात्रै हुने हो भने पनि यसमा भण्टा रङ लागेको विशाल क्षेत्र अहिले सहाराको मध्यभागजत्तिकै तातो हुनेछ । अर्थात् त्यहाँ बसोबास गर्ने ३.५ अर्ब मानिसहरु सन् २०७० अघि नै विस्थापित भइसकेका हुनेछन् । धेरै देशका वैज्ञानिक मिलेर गरेको यो अध्ययनको पूरा पाठ (Future of the human climate niche) पढ्नुहुन्छ भने उक्त आलेखको लिंक छ ।

पटना र गोरखपुरसम्म सहाराको मध्यभाग जत्तिकै तात्नु भनेको नेपालको तराई मधेश सहाराको छेउछाउ जत्तिकै तात्नु हो । त्यो भनेको लगभग आजको कतार वा साउदीको तापक्रम हो । त्यो अवस्थामा सिंगै जसो भारतीय उपमहाद्वीपको भुमिगत जलाधार रित्तिइसकेको हुनेछ भने हिमालय श्रृंखलामा वारको पार सबै हिमनदी सुकिसकेका हुनेछन् । एकाध हिमालका चुचुरामा मात्र केही हिउँ बच्न सक्नेछ ।

भारत, पाकिस्तान र बंगलादेशबाट विस्थापित हुने चानचुन एक अर्ब र नेपालको तराईबाट विस्थापित हुने लाखौंमध्ये तबसम्म ज्यान जोगाउन सफल हुने मानिसहरुसित उत्तर सर्दै जानुको विकल्प रहने छैन । भुटान, नेपाल, भारत र पाकिस्तानमा हिमालय र महाभारत श्रृंखलाको सापेक्षतः शीतलमा अरबौं मानिस खांदिइरहँदा अहिलेका राजनीतिक सीमानाहरु सम्भवतः निरर्थक हुनेछन् ।

विस्थापित अरबमध्ये अरबै भूमिहीन सुकुम्बासी हुनेछन् । एकछिन रोकिएर सोच्नोस् त मैले जलवायु विज्ञानमा टेकेर गरेको यो प्रक्षेपणमा के गलत छ ? फेरि सोच्नोस् र अब तल पढ्नोस् । मेरो माथिको भनाइको मुख्य गल्तीः ‘अरब जना भुमिहीन हुनेछन्’ । सही कुराः ‘अरब जना भुमिहीन हुनेछौं’ ।

अहिले संसार जुन दिशामा गइरहेको छ, त्यसले पुर्याउने भविष्यमा हामी कोही पनि जमिनका मालिक रहने छैनौं । हामी धेरैले आफ्नो शाश्वत सम्पत्ति मानेको जमिन मरुभुमि बन्नेछ । जुन बाँकी हुन्छ, धेरै सम्भावना छ, त्यसलाई त्यो बेलाका शक्तिशालीहरुले हडप्नेछन् । थोरै बचेको उर्वर जमिनमा यति दबाब हुनेछ कि अहिले झैं निर्धक्क खेती गर्ने, अन्न उब्जाउने, घर बनाएर बस्ने अवस्था रहने छैन । मलिलो जमिन र पानीका लागि हुने युद्धहरु यति विनाशकारी हुनेछन् कि लाखौंका संख्यामा मानिसहरु मारिने छन् ।

त्यसैले यहाँ कुरा सरकारले आजका सुकुम्वासीलाई कस्तो व्यवहार गर्छ भन्नेमा सीमित छैन । सिंगो समाजका रुपमा हामीले गरिबी, भोकमरी, अभाव र विस्थापनलाई कसरी झेल्न अभ्यस्त हुन्छौं, आपतविपतमा एउटा नागरिकले अर्कोलाई कति सहयोग र ऐक्यबद्धता देखाउँछौं, यी सबै कुराको मानक बन्दै गरेको समय हो यो । यस्तो बेला अर्को दुर्बल नागरिकका दुःख देखेर खुच्चिङ भन्ने भावना आउँछ वा कसैले ऊप्रति समानुभुति देखाउँदा ऊसित रिस उठ्छ भने कृपया याद राख्नुहोलाः भोलि तपाईँ पनि त्यही दुर्बल भूमिहीनको ठाउँमा पुग्न सक्नुहुनेछ ।

अर्को, अलि धनी देशको ऐश–आराममा बसेर यताकालाई खुच्चिङ भन्दै हुनुहुन्छ भने कुनै दिन त्यताका रैथाने वा रैथाने भनिनेहरुले तपाइँलाई धकेलेर यतैको गर्तमा पुर्याइदिन सक्नेछन् । भविष्य कसैको सुरक्षित छैन । जलिरहेको पृथ्वीमा बसेर कसैले कसैलाई खुच्चिङ भन्नुको अर्थ छैन । बरु एकअर्कासित काँधमा काँध मिलाएर हिंड्ने, दुःखसुख साटासाट गर्ने, देखापरेका समस्याहरुको समतामुलक र न्यायोचित निकास र कम्तीमा पनि करुणा र समानुभुति विकास गर्ने हो भने त्यसमा सबैको भलो छ ।