अत्तरिया। कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले व्यावसायिक च्याउखेती गर्दै आएका छन् ।
चौधरीले छ वर्षदेखि सुभाष बहुउदेश्यीय कृषि फार्म दर्ता गरेर च्याउखेती गर्दै आएका हुन्। एउटा टनेलबाट च्याउखेती सुरु गरेका चौधरीले हाल पाँच कट्ठा जग्गामा १५ वटा टनेलबाट च्याउ उत्पादन गर्दै आएको बताए ।
बाह्रै महिना च्याउ उत्पादन गर्ने गरेको बताउँदै चौधरीले आम्दानी पनि राम्रो हुने गरेको बताए । उनले भने, ‘वार्षिक रु २० लाखबराबरको च्याउ बिक्री हुन्छ । सबै खर्च कटाएर वार्षिक रु १० लाख आम्दानी हुन्छ । यस वर्ष रु ३० लाखसम्मको च्याउ बिक्री गर्ने लक्ष्य छ ।’
पहिले ज्ञान र सीपको कमीले छ महिना मात्रै च्याउ उत्पादन गर्ने गरेकामा हाल उनले बाह्रै महिना च्याउ उत्पादन गर्दै आएका छन् । चौधरीले उत्पादन गरेको कन्य च्याउ हाल बजारमा प्रतिकिलो रु २५० का दरले बिक्री हुँदै आएको छ ।
उनले भने, ‘कन्य च्याउको उत्पादन बढी हुन्छ । यसको खपत पनि राम्रो छ । लागत पनि कम छ । त्यसैले कन्य च्याउ नै उत्पादन गर्ने गरेको छु ।’ चौधरीले च्याउ फार्ममा दैनिक ज्यालादारीमा चार जनालाई रोजगारीसमेत दिएको र दैनिक प्रतिव्यक्ति रु ६०० देखि आठ ८०० सम्म ज्याला दिने गरेको बताउँछन् ।
लगानी कम र आम्दानी बढी भए पनि बजारको मागअनुसार च्याउ आपूर्ति गर्न कठिनाइ भइरहेको चौधरीजस्तै व्यावसायिक च्याउखेती गर्दै आएका किसान बताउँछन् । पछिल्लो समय बजारमा माग अत्यधिक रहेकाले च्याउखेतीको आम्दानीले सहजै जीविकोपार्जन हुने उनीहरूको भनाइ छ ।
च्याउखेतीबाट भएको आम्दानीले सबै घर खर्च र छोराछोरीको पढाइलेखाइ खर्च सजिलै जुटेको उनीहरू बताउँछन् । मिहिनेत गरे आफ्नै देशमा रोजगारी दिन र राम्रै आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणीय पात्रका रूपमा व्यावसायिक च्याउखेती गर्दै आएका चौधरी रहेका छन् ।

प्रतिक्रिया