संविधानमा रहेका अधिकारको प्रयोग जनताले सहज रूपमा गर्नसक्ने अवस्था नभएसम्म गणतन्त्र दिगो हुँदैनः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान र कानूनमा रहेका सम्पूर्ण अधिकारको प्रयोग जनताले सहज रूपमा गर्न सक्ने अवस्था नभएसम्म गणतन्त्र दिगो नहुने बताएका छन् ।

१६ औं गणतन्त्र दिवसका अवसरमा सोमबार सैनिकमञ्च टुँडिखेलमा आयाजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आम जनताको जीवनस्तरमा गुणस्तरीय सुधार नआएसम्म लोकतन्त्र र गणतन्त्रको औचित्य प्रमाणित नहुने बताएका हुन् ।

उनले भने,‘संविधान र कानूनमा रहेका सम्पूर्ण अधिकारको प्रयोग जनताले सहज रूपमा गर्न सक्ने अवस्था नभएसम्म गणतन्त्र दिगो हुँदैन । साथै, आम जनताको जीवनस्तरमा गुणस्तरीय सुधार नआएसम्म लोकतन्त्र र गणतन्त्रको औचित्य प्रमाणित हुँदैन । यस कुरालाई हामीले गम्भीरतासाथ मनन गरी जनताको जीवनस्तरलाई यथाशीघ्र माथि उकास्ने प्रतिवद्धतासाथ कर्म क्षेत्रमा जुट्नुपर्ने खाँचो छ । ठूलो संघर्ष र बलिदानबाट प्राप्त राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै मुलुकलाई छिट्टै अतिकम विकसित राष्ट्रबाट विकासशील र विकसित राष्ट्रमा रूपान्तरण गरी मुलुक र जनताको प्रतिष्ठा अभिवृद्धि गर्न वर्तमान सरकार क्रियाशील छ ।’

प्रधानमन्त्रीले हामी सबैले राजनीतिक परिवर्तनलाई अर्थतन्त्रको सबलीकरण र सामाजिक रूपान्तरणमा सहयोगी हुने हिसाबले अघि बढाउन आवश्यक रहेको बताए ।

उनले भने, ‘नेपाली जनताले पटक पटक नागरिक हक अधिकार प्राप्तिका लागि गरेको संघर्ष केवल गणतन्त्र र राजनीतिक स्वतन्त्रता प्राप्तिका लागि मात्र सीमित थिएन । राजनीतिक परिवर्तनमार्फत् देशको आर्थिक र सामाजिक अवस्था सुधार गरी नेपाललाई समृद्ध र समुन्नत मुलुकका रूपमा स्थापित गर्ने पनि यसको उद्देश्य थियो । अतः राजनीतिक परिवर्तनले जहिलेसम्म जनताको जीवनस्तरमा सुधार ल्याउने काममा योगदान गर्दैन, मुलुकको राष्ट्रिय स्वाधीनता र स्वाभिमानलाई संरक्षण र संवद्र्धन गर्ने काम गर्दैन, त्यो परिवर्तन अधुरै रहन्छ । यस कुरालाई मध्यनजर गरी हामी सबैले राजनीतिक परिवर्तनलाई अर्थतन्त्रको सबलीकरण र सामाजिक रूपान्तरणमा सहयोगी हुने हिसाबले अघि बढाउन आवश्यक छ ।’

त्यसैगरी प्रधानमन्त्रीले लोकतन्त्रको विकल्प अझ सुदृढ लोकतन्त्र र गणतन्त्रको विकल्प उन्नत गणतन्त्र नै भएको बताएका छन् । उनले भने, ‘यस बीचमा संघीय लोकतान्त्रिक गणतन्त्रप्रति नै वितृष्णा जगाउने र बलिदानीपूर्ण संघर्षबाट प्राप्त अधिकारलाई उल्ट्याउने कसरत पनि भइरहेका छन् । संविधान कार्यान्वयन र शासन सञ्चालनमा देखिने कतिपय कमजोरीलाई आधार बनाएर व्यवस्था र प्रणालीप्रति नै भ्रम छर्ने, वितृष्णा छर्ने यी प्रयासहरु कदापी सफल हुने छैनन् । किनकी लोकतन्त्रको विकल्प अझ सुदृढ लोकतन्त्र र गणतन्त्रको विकल्प उन्नत गणतन्त्र हो । लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भव छ भन्ने कुरा पछिल्ला दिनका कतिपय घटनाक्रमले पुष्टि गरिसकेका छन् । त्यसैले हामी संविधानले निर्दिष्ट गरे अनुरुप समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै सुशासन सहितको राज्य सञ्चालनका पक्षमा दृढतापूर्वक उभिनु जरुरी छ । सुशासन र सामाजिक न्यायसहितको समृद्ध नेपालका लागि फेरि राष्ट्रिय एकताको खाँचो रहेको तथ्यलाई गम्भीरतापूर्वक लिन म सबैमा अपील गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुनै एक कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा शुल्क नलिन महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको

चार लाख २६ हजार पर्यटकद्वारा एकवर्षमा मुस्ताङ भ्रमण

म्याग्दी । पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४

उपनिर्वाचनमा सहयोग पु–याउन निर्वाचन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष,

अरुण नदीमा अवरुद्ध फेरी सञ्चालनमा

किमाथाङ्का (सङ्खुवासभा) । सङखुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ सतिघाटस्थित अरुण नदीको फेरी