कुलमानले सम्झिए लोडसेडिङ अन्त्य अभियान, भने-अब समृद्धिको उज्यालो फैलाउनुपर्छ


काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नेपाल संवत् ११४७ तथा म्हपूजाको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

उनले नेपाल संवत्लाई मौलिक संस्कृति, राष्ट्रिय पहिचान, सामाजिक न्याय र स्वाभिमानको प्रतीकका रूपमा व्याख्या गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाले ऋणमा डुबेका जनतालाई ऋणमुक्त गराएर नेपाल संवत् सुरु गरेको उल्लेख गर्दै उनले यसले आर्थिक स्वतन्त्रता र सामाजिक न्यायको ऐतिहासिक सन्देश बोकेको बताएका छन् ।

त्यस्तै, म्हपूजाले आत्मसम्मान, आत्मशुद्धि, सुस्वास्थ्य र मानव जीवनको महत्त्वलाई उजागर गर्ने उनले बताएका छन् ।
घिसिङले आफ्नो जीवनमा पनि यो अवसर विशेष स्मरणीय रहेको उल्लेख गरेका छन् ।

वि.सं. २०७३ सालको लक्ष्मीपूजाकै दिनबाट काठमाडौं उपत्यकामा लोडसेडिङ अन्त्य गर्ने अभियान सुरु गरिएको स्मरण गर्दै उनले त्यो अँध्यारो हटाउने अभियान मात्रै नभई नेपाली जनतामा आशा, भरोसा र उज्यालो भविष्यप्रतिको विश्वास जगाउने सुरुवात भएको बताएका छन् ।

‘शंखधर साख्वाले ऋणमुक्तिको उज्यालो छर्नुभयो, हामीले लोडसेडिङमुक्त नेपालको यात्रा सुरु गर्यौँ,’ उनले भनेका छन् ।
अब हरेक नेपालीको जीवनमा आर्थिक समृद्धि, सामाजिक न्याय र अवसरको उज्यालो फैलाउनु साझा संकल्प हुनुपर्ने उनको भनाइ छ ।

नेपाल संवत् ११४७ तथा म्हपूजाको अवसरमा घिसिङले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, आत्मसम्मान र समृद्धिको कामना गरेका छन् ।