एउटा सभ्यताको सुरुवात



एउटा सभ्यताको सुरुवात

फेरि एकचोटी
मेरा सपनाका सीमान्त हाँगामा
नयाँ पालुवाहरू पलाएका छन् ,

मिर्मिरेका चराझैं ब्युझिएर हेर!
क्षितिजका बार्दलीमा मेरा विश्वासहरू
बालकको सुकिला लुगाझैं मुस्कुराएका छन् ,

यो घाम जत्तिकै पुरानो सद्भावको छायाँमा
ऐंठन आखाले हेरिरहें
क्षयग्रस्त गोरेटोका असहाय श्लोकहरु,

हावाको झोक्कामा झोक्कामा थर्थराउने पहाडहरू
म भित्रभित्रै पहिरोझैं खसिरहे,
म घाइते योद्धाजस्तो संवेदनाको हिमालमा
काँचझैं चर्किरहें,

समय ओइलाएर झर्यो शिशिरको रुखबाट …

म एउटा बुढो रुख
चाँदीको हतियारले टुक्राइएको बादलमा
उज्यालोको पराजित किरणझैं धर्मराइरहें,

‘म्युजियम’जस्तो यो ब्रम्हाण्डको सीमाहीनतामा
मेरी धरती
तिमीलाई विरासतमा दिनका लागि
अलिकति जल,
अलिकति वायु,
अलिकति तेज,
अलिकति आकाश
र माटोको पुँजी छ मसँग,
प्रलयपछिको शून्यतामा समेत
तिमीसँगै सास फेर्ने चन्द्र-सूर्यको ढुकढुकी छ मसँग,

इतिहासको कठोर हिमनदीमा
‘डामोक्लेश’को तरबारले सृष्टि चोइटिनु अघि
मैले रोएका आँसुहरू
खोज्दै सभ्यताको तेस्रो किनार
बग्न सक्छ तिमीभित्र

त्यतैकतै कुनै दृष्टिको भूगोलमा
अलिकति वात्सल्यका तरङ्गहरुसँगै हुनेछु म,
इच्छाको आकाशमा आशाको इन्द्रधनुषझैं
स्नेहका ‘अर्ग्यानिक’ रङ्गहरुसँगै हुनेछु म,

एउटा खण्डहरको कथा भर्खरै सकिएको छ
मेरी धरती!
फेरि एकचोटी
मेरा सपनाका सीमान्त हाँगामा
नयाँ पालुवाहरू पलाएका छन् !

~ स्मिता श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुनका टुक्राहरू

डा. गोविन्दशरण उपाध्याय । त्यो दिन हामी सबै बसेर हिमाल, पहाड र तराईको

भोको पेट सामु पुष्पबृष्टि……

भोको पेट सामु पुष्पबृष्टि————- भोकले छटपटाएर बसेका मानिसलाई दाल भात दिनुको सट्टा आनन्दले

‘महारानी’ उपन्यासलाई यसवर्षको मदन पुरस्कार प्रदान गरिने

काठमाडौं । यसवर्षको मदन पुरस्कार ‘महारानी’ उपन्यासले पाएको छ । मदन पुरस्कार गुठीले

‘नेताहरु आत्महत्या गर्दैनन्  ?’

नेताहरु आत्महत्या गर्दैनन्  ? जो गरीब, लुसो कमजोर हुन्छ जो रोगी हुन्छ त्यही