क्रान्तिशिखा धिताल ।
कैलालीको गोदावरी नगरपालिका–४ मा आइतबार जे भयो, त्यो राज्यको क्रूरताको अनुहार हो जसको दर्पणमा आफ्नो अनुहार हेर्ने साहस हामी सबैले गर्नुपर्छ। समाजशास्त्री केशव सिलवाल भन्छन ‘सहर शक्तिशाली, धनी र पुँजीपतिको अधीनमा हुन्छ र तिनको सेवामै योजना बन्छन् । हाम्रोजस्तो अव्यवस्थित सहरीकरणमा बेघरबार, सहरी गरिबी झन् बढ्दै जान्छ ।’
हामी सहरमा छौँ भने कस्तो अवस्था कसरी छौँ? ‘केन्द्र’ भनिएको कथित मूलधारे व्यवस्थाले कोरेको योजनामा हाम्रो पदचाप छ कि छैन? यदि छ भने त्यो पदचाप हाम्रो नाङ्गो खुट्टाको हो, जसको ब्लू प्रिन्टमा बुट बजार्दै राज्य नाचिरहेको छ ।
समाज अध्येता डा. सविन निङ्लेखूको विचारमा हामी ‘विकसित’ देशको नक्कल गर्छौं तर त्यो नक्कलको बीउ नवउदारवादी पुँजीवाद हो। ‘नवउदारवादी सौन्दर्यशास्त्रको चस्माले हेरेपछि एक गरिबलाई ‘कसिंगर’ नै देख्ने हो।’ हाम्रो सहर “विकसित” ठानिएको झुर सहरको क्रुर नक्कल सिवाय अरु के नै हो र? बजारिया भर्जनका हजार सपनाहरूको थुप्रोले हामीलाई थिच्दै गएको सत्य नै हाम्रो दैनिकी हो । यही चस्मा लगाएर हेर्दा धनादेवीको टेम्पो ‘अतिक्रमण’ देखिन्छ ।
म तेह्र वर्षको छँदा, पृथ्वीको अर्को कुना ट्युनिसियाको सिदी बुजिद सहरका फलफुल बेच्ने २६ वर्षीय Mohamed Bouaziziलाई Faida Hamdy नामकी नगरपालिका कर्मचारीले सामान खोसेर, सार्वजनिक रूपमा थप्पड हानिन्! Bouazizi ले गभर्नरको कार्यालयमा गुहार माग्न गए, सहरका महंगा ढोका प्रायगरिब ‘कसिंगर’का लागि खुल्दैन ! Bouazizi ले कार्यालयकै सामु पेट्रोल खनाएर आफुलाई आगो लगाए ! त्यो आगोले अरब स्प्रिङ सल्कायो। त्यसको राप र ताप विश्वका छेउकुना सबैतिर पुग्यो । ट्युनिसियाका राष्ट्रपति बेन अली, जसले २३ वर्ष राज गरेका थिए, सत्ताबाट खसे। एउटा चिनगारीले एउटा सरकार ढाल्यो। आखिर सत्ताको आयु कति कमजोर हुन्छ, त्यो जगजाहेरै छ ।
दिनहुँ जसो भाइरल भएर, ४ कठै बटुलेर, अलप हुने यी सम्रचानंत्मक हिंसाका अनेकन स्वरुप, अनेकन चित्र-चरित्रको बाढी थामिनसक्नु हुँदै गएकै छ । सामाजिक संजाल, डिजिटल स्केलेटनमा उभिएको एक रमिते चौतारी बाहेक अरु खास बन्न सकेको छैन ।समानताको हक, सम्पत्तिको हक त छँदैछ, कानुनी प्रक्रियाबाहिर कुनै पनि नागरिकको सम्पत्ति नष्ट गर्न सकिँदैन।
मुलुकी अपराध संहिता, २०७४ धारा ३८ ले स्पष्ट भन्छ: पदाधिकारीले सत्ताको दुरुपयोग गरेर कसैलाई नोक्सान पुर्याउँदा सजाय बढ्छ, घट्दैन। Due process बिना एउटी महिलाको जीविका ध्वस्त पार्नु aggravated offense हो ।
यो चोट हामीले सत्तामा बसेर महसुस गर्न सकेनौँ भने लाज लाग्नुपर्छ हामीलाई तर लाजको सिमाना बढेर हद च्यात्तिन थालेको निकै भएन र? अझै हाम्रो समाजको गाता कति च्यातिनु कति फेरिनु पर्ने हो , देश जनताको आँगनमा आइपुग्न?
याद राख्नुपर्छ हामीले जब कानुन आफै शक्तिशालीलाई ढाल र कमजोरमाथिको हतियार बन्छ त्यसपछि एउटा टेम्पोमाथि चलेको बुलडोजरको आवाज इतिहासमा धेरै टाढासम्म सुनिन्छ। चर्को र कर्कश आवाज, जसको जवाफ माग्न सायद अहिलेको समय हामीसँग प्रश्न कम भएका होलान तर बीउ हामीसँग छ । समय समयको कुरा न हो, एकदिन प्रश्नहरुले सत्ताको कान कसो नचिथोर्लान् ?

प्रतिक्रिया