प्रदेश इन्चार्ज हेरफेरप्रति माओवादी नेताहरु असन्तुष्ट, कार्यविभाजन सही नभएको जिकिर



काठमाडौं । प्रदेश इन्चार्ज र सहइन्चार्जमा जिम्मेवारी हेरफेरलाई लिएर नेकपा माओावदी केन्द्रका नेताहरु असन्तुष्ट देखिएका छन् । सुदूरपश्चिम प्रदेश इन्चार्जबाट हटाएपछि माओवादी केन्द्रका केन्द्रीय सदस्य खगराज अधिकारीले सुदूरपश्चिमको पार्टी सिध्याउने डिजाइन अस्वीकार्य भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

उनले पार्टीको निर्णयपछि भनेका छन्, ‘सुदूरपश्चिमको पार्टी सिध्याउने र मेरो ३४ वर्षको राजनीतिक जीवन समाप्त पार्ने डिजाइन अस्वीकार्य छ।’ बुधबार बसेको स्थायी समिति बैठकले प्रदेशहरूको इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी हेरफेर गरेको थियो । सुदूरपश्चिम प्रदेशमा भट्टराई इन्चार्जबाट हटाएर गिरिराजमणि पोखरेललाई इन्चार्ज बनाइएको छ भने प्रदेशको सहइन्चार्जको जिम्मेवारी प्रचण्डकी बुहारी विना मगरलाई दिइएको छ । भट्टलाई पार्टी संसदीय दलको नेताबाट पनि हटाइएको थियो ।

त्यसैगरी उपमहासचिव जनार्दन शर्माले पनि स्थायी समितिमा पेस भएको नेताहरुको कार्यविभाजनलाई लिएर असहमति प्रकट गरेका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी समिति बैठकमा उनले प्रस्तावित कार्यविभाजन र सेती महाकालीमा देखिएको विवाद समाधानको निर्णयमा असहमति प्रकट गरेका हुन् ।

उनले भने, ‘कार्यविभाजन सही भएन, पार्टी निर्माणको उद्देश्यअनुरुप भएन, विधान अधिवेशनको ‘ह्याङओभर’ लाई लिएर कार्यविभाजन गरियो । विधान अधिवेशनमा प्रत्यक्ष निर्वाचित पदाधिकारी हुनुपर्छ भन्ने मत राख्ने आफूलगायत अन्य नेतालाई कार्यजिम्मेवारीविहीन बनाइएको छ ।’

सुदूरपश्चिम प्रदेशमा स्थायी समिति सदस्य हुँदाहुँदै केन्द्रीय सदस्यलाई सहइन्चार्ज बनाइएकोलगायत मुद्दा, त्यहाँको दलभित्रको विवादलाई टुङ्ग्याउने निर्णय सन्तुलित र न्यायपूर्ण नभएको भनी आफूले असहमति राखेको उनले जानकारी दिए । उनले भने, ‘पार्टी अध्यक्षले असहमतिका विषयलाई पार्टीभित्र राख्न पाइन्छ, स्वागत छ भन्नुभयो । मैले असहमतिका विषय सम्पूर्ण नेतृत्वलाई बुझाएको छु ।’

यस्तो छ जनार्दन शर्माको  फरक मत

आदरणीय अध्यक्ष कमरेड एवं स्थायी समिति

विषय : असहमति बारे ।

विधान अधिवेशन लगतै बसेको स्थायी समितिको बैठकमा विधानबारे एजेन्डा नै नराख्नु विधान अधिवेशनले पारित गरेको निर्णयहरूको भाषिक रुपले सम्पादन गरी कार्यान्वयन गर्ने कार्यभारप्रति वेवास्ता गर्नु र पारित विषयलाई वेवास्ता गरी विधि विहीनतालाई निरन्तरता दिने उद्देश्य देखिनु दुःखद् कुरा हो । विधान अधिवेशनबाट पारित भएका निर्णयहरू सम्पादन गरी तुरुन्त कार्यान्वयन गर्न माग गर्दछु ।

स्थायी कमिटीमा कार्य विभाजन एजेन्डा बारे गृहकार्यको नाममा पटक–पटक बैठक सरेको र आज मिति २०८० फागुन १५ गते प्रस्तावित भई असहमतिका बीच पारित गरिएका निर्णयहरू प्रति गम्भीर असहमतिका साथ आफ्नो मत राख्दछु ।

कार्य विभाजन गर्दा पार्टी निर्माण गर्न संगठनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य राख्नुको सट्टा कतिपय प्रदेशहरूमा कार्य विभाजन गर्दा स्थायी समितिका सदस्यलाई समेत वेवास्ता गरी विधिविपरीत आफ्नो अनुकूलतामा गरिएको निर्णयप्रति असहमति जाहेर गर्दछु ।

जनप्रतिनिधिहरू पार्टीको इन्चार्ज नरहने नीति म लगायतका कमरेडहरूलाई लागू गरेको भने पनि नारायण दाहाललाई बागमती प्रदेशको सह–इन्चार्ज बनाउने निर्णयले के उद्देश्य रहेको छ भन्ने स्पष्ट गरेको छ ।

अझ गम्भीर कुरा त सेती महाकालीमा केही समयदेखि इन्चार्ज बनाउन अध्यक्ष समेतको संलग्नतामा गरिएको गतिविधिहरूका आधारमा दर्जनभन्दा बढी कमरेडलाई वेवास्ता गर्दै, स्थायी समिति सदस्य खगराज भट्टलाई दल नेता र इन्चार्ज दुवैबाट पदच्युत गरी विकल्प नदिई अपमानित गरिएको । सो प्रदेशमा हाललाई बिना मगरलाई सह–इन्चार्ज बनाउनुले सेती महाकालीमा पार्टीलाई अस्तव्यस्त पार्ने मात्र नभई कतिपय कामरेडलाई यो पार्टीमा स्थान नै छैन भन्ने सन्देश दिन गरिएको निर्णय आफैंमा गम्भीर छ । खगराज भट्टलाई यो वा त्यो जिम्मेवारीबाट सन्तुलन नगरी राजनीतिक रुपबाट विस्थापित र अपमानित गर्ने कार्यप्रति आपत्ति प्रकट गर्दछु ।

मैले जिम्मेवारी नपाउने कुरालाई सामान्य रुपमा लिएको छु । तर यसभित्रको अन्तर्निहित उद्देश्य, विधान सम्मेलनमा मैले प्रस्तुत गरेका एजेन्डाहरू, छलफल र हलले पदाधिकारी समेत अधिवेशनबाट चुनिनुपर्ने मागलाई बेवास्ता गर्दै पदाधिकारी र पार्टी नामबारे पछि गरौंला भन्दै टारिएको अवस्था जगजाहेर छ । उपर्युक्त मतप्रति सकारात्मक रहेकाहरूलाई जिम्मेवारी विहीन बनाउनुले के मनसाय रहेको छ भने स्पष्ट हुन्छ । उक्त अधिवेशनमा मैंले मौखिक रुपमा सो सम्बन्धमा राखेको कुराप्रति बेवास्ता गरेकाले मैले पार्टीको विधि विधानभित्र रहेर आफ्नो मत राख्न खोज्दा अधिवेशनमा समेत बोल्ने अनुमति नदिएको स्मरण गराउँदै कार्य विभाजनमा आइपुग्दा सोही आग्रहबाट निर्देशित भएको स्पष्ट हुन्छ । जनप्रतिनिधिले पार्टी कामको जिम्मेवारी नलिने नीतिगत व्यवस्था कार्यान्वयन गर्ने कुरा गर्दा स्वयम् अध्यक्ष र सम्पूर्ण तहमा लागू गर्ने हो होइन भन्ने प्रश्न स्वाभाविक रुपमा उठ्छ ।

विधानको व्यवस्था अनुसार पार्टी पंक्तिमा आफ्नो मत राख्न पाउने अधिकारको उपयोग गर्दै लिखित असहमति पत्र यस बैठकमा प्रस्तुत गरेको छु। पार्टी निर्माणप्रति प्रतिबद्ध रहँदै सरकार र संसद्का कामहरू समेतमा सकारात्मक भूमिका निर्वाह गर्ने जिम्मेवारीप्रति स्पष्ट रहेको कुरा समेत अनुरोध गर्दछु ।

– जनार्दन शर्मा ‘प्रभाकर’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अयट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा

मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत मिल्नु राम्रो कुरा होः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकद्वारा शुक्रबार सार्वजनिक मौद्रिक नीतिले