बीबीसी । स्पेनका यातायातमन्त्री ओस्कार पुएन्तेले रेल दुर्घटनाको ६ दिनपछि पदबाट राजीनामा दिएका छन् । गत अक्टोबर २८ मा भएको तीव्र गतिको रेल दुर्घटनामा कम्तीमा ६९ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका थिए ।
मन्त्री पुएन्तेले मंगलबार साँझ संसद्मा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन् । राजधानी म्याड्रिडको दक्षिणमा रहेको उर्दा सहरनजिकै भएको दुर्घटनामा एउटा रेलले रोकिराखेको अर्को रेललाई पछाडिबाट ठक्कर दिएको थियो ।
राजीनामाको घोषणा गर्दै उनले भने, ‘स्पेनजस्तो देशमा एक वर्षभन्दा कम अवधिमा यति गम्भीर प्रकृतिका दुई दुर्घटना भएपछि यातायातमन्त्री पदमा रहिरहन सक्दैन ।’ उनले गत जनवरीमा सोही रेलमार्गमा भएको दुर्घटनालाई समेत उल्लेख गरेका थिए । उक्त दुर्घटनामा ४६ जनाको मृत्यु भएको थियो ।
गत साताको दुर्घटना आधुनिक युरोपेली इतिहासकै सबैभन्दा ठूलो रेल दुर्घटनामध्ये एक हो । सन् २०१३ पछिकै स्पेनको सबैभन्दा घातक रेल दुर्घटनाका रूपमा यसलाई लिइएको छ ।
संसद्मा लामो समयसम्म चलेको छलफलका क्रममा पुएन्तेले रेल सुरक्षासम्बन्धी नयाँ उपायहरू प्रस्तुत गरेका थिए । तर विपक्षी दलका सांसदहरूले रेल प्रणालीको सुरक्षा र सरकारको जिम्मेवारीबारे उनीसँग जवाफ मागेका थिए ।
उनले यातायातमन्त्री पदबाट मात्रै नभई आगामी नोभेम्बर २९ मा हुने मध्यावधि आमनिर्वाचनका लागि आफ्नो उम्मेदवारीसमेत फिर्ता लिने घोषणा गरेका छन् ।

प्रतिक्रिया