विश्वका सात अर्ब मानिसलाई कसरी दिने कोरोना भाइरसविरुद्धको खोप ?



संसारभर वैज्ञानिक समूहहरू कोरोनाभाइरसविरुद्ध प्रभावकारी हुने खोपको विकास गर्न लागिपरेका छन्। ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले त यसलाई ’हाम्रो जीवनकालकै सबैभन्दा आवश्यक साझा प्रयास’ भनेका छन् । तर विश्वका सात अर्ब मानिससम्म खोप पुर्याउन के कस्तो व्यवस्था छ त ?

ब्रिटेनमा यो प्रयासको केन्द्रमा अक्सफर्डसायरस्थित वायुसेनाको पुरानो हवाई अखाडामा रहेको ’हार्वेल साइन्स क्याम्पस’ रहेको छ । त्यहाँ ब्रिटेनको खोप उत्पादन तथा विकास केन्द्र ’भीएआईसी’ रहने छ । जुन निर्माण योजनालाई कोभिड १९ कारण तीव्रता दिइएको छ । “हामीले यसको समयरेखालाई आधा छोट्टाएका छौँ । यो खोप निर्माण केन्द्र सन् २०२२ को अन्त्यसम्ममा तयार हुने क्रममा थियो तर अब यो सन् २०२१ मै तयार हुने आशा छ,“ त्यहाँका प्रमुख कार्यकारी म्याथ्यू डुचार्सले भने ।

ठूलो चुनौती
डुचार्सले अहिलेसम्म ग्रीष्मकालको बिदा लिएका छैनन् किनभने उनलाई थाहा छ यहाँ अक्सफर्ड विश्वविद्यालयले कोरोनाभाइरस विरुद्ध बनाएको खोप उत्पादन गर्नु पर्ने हुनसक्छ । उनी अक्सफर्डमा त्यहाँबाट नजिकै रहेको ’जेनर इन्स्टिट्यूट’ सँग नियमित सम्पर्कमा छन् । ‘खोप बनेपछि प्रभावकारी रूपमा तीव्र गतिमा उत्पादन गर्नु देशका लागि मात्रै होइन, विश्वकै लागि एकदमै महत्वपूर्ण छ,’ उनले भने । ‘यसलाई घरमा केक बनाउने प्रकृया जस्तै हो भनेर भन्न सकिन्छ। तपाईँ घण्टौँ लगाएर मिश्रण तयार गर्नु हुन्छ र केक बनाउनु हुन्छ, तर त्यो तयार भएपछि एकैचोटी सात करोड उस्तै केक बनाउनु पर्छ। यो ठूलो चुनौती हो।’ तर यो त्योभन्दा गाह्रो काम हो । अक्सफर्ड विश्वविद्यालयले खोप परीक्षणको नतिजा आउनुभन्दा पहिल्यै खोप उत्पादन गर्न प्रयोगशालाका लागि आवश्यक ठाउँ लिइसकेको छ । मानवमा प्रयोगका लागि कोभिड १९ का अर्बौँ खोपहरू बनाउनु पर्ने हुनसक्छ । ती सबै उत्पादन र वितरणका साथै विश्वभर मानिसहरूलाई लगाउने कार्य पनि गर्नुपर्छ ।

खोपहरूको अन्तराष्ट्रिय सञ्जाल ’गाभी’ले सबै राष्ट्रलाई आफूहरूकहाँ सर्वसाधारणलाई खोप कसरी लगाउने भन्ने विषयमा सोचविचार गर्न आग्रह गरिरहेको छ । तर यो विषयमा अन्तर्राष्ट्रिय सहयोग हासिल गर्न त्यति सजिलो छैन किनभने धनी राष्ट्रहरूले आफूलाई आवश्यक पर्ने खोपको मात्रा प्राप्त गर्नका लागि अहिल्यै औषधि निर्माताहरूसँग सम्झौता गर्न थालिसकेका छन् ।

’खोप राष्ट्रियता’
’गाभी’ का प्रमुख कार्यकारी अधिकृत सेथ बर्कलीले आफूले देखिरहेको सबैभन्दा ठूलो चुनौतीलाई ’खोप राष्ट्रियता’ नामकरण गरेका छन् । ‘सबै देशहरूले यसलाई विश्वव्यापी भावनाले सोच्नुपर्छ किनभने त्यो नै सही तरिका हो,’ उनले भने। ‘यदि तपाईँका वरपरका देशहरूमा भाइरस जीवितै छ भने तपाईँ सामान्य रूपमा व्यापार वा यात्रा गर्न सक्नुहुन्न। सबैभन्दा सही सोच यो होस् सबैजना सुरक्षित नभएसम्म हामी कोही पनि सुरक्षित छैनौँ।’ विकासशील राष्ट्रहरूमा कसरी खोप पुर्याउने भन्ने विषयमा मात्रै होइन बर्कलीले ती स्थानहरूमा खोप सुरक्षित राख्नका लागि आवश्यक साधान छन् कि छैनन् भन्ने बारेमा पनि सोच्नुपर्छ । उनले भने, ‘हामीले दुई अर्बवटा सिसाका खोप राख्ने भाँडा किनेका छौँ। सन् २०२१ को अन्त्यसम्ममा त्यति मात्रामा खोप उपलब्ध हुने हामीले आशा गरेका छौँ।’ तर सिसाको भाँडामात्रै होइन्, खोप राख्न प्रयोग गरिने फ्रिजको पनि समस्या हुनसक्छ ।

ठण्डा राख्ने प्रविधि
बर्मिङ्गम विश्वविद्यालयका प्राध्यापक टोबी पिटर्सले गाभीजस्ता संस्थाहरूलाई विकासशील देशहरूमा भएका चिसो राख्ने प्रविधिलाई कसरी उच्चतम प्रयोग गर्न सकिन्छ भनेर सहयोग गरिरहेका छन् । उनी भन्छन्, ‘यो खोप राख्ने फ्रिजको मात्रै कुरा होइन। विमानबाट लग्न आवश्यक उपकरण, स्थानीय स्तरमा पुर्याउन आवश्यक गाडीहरू र समुदायमा पुर्याउने मानिसहरू सबै कुराको व्यवस्था मिल्नुपर्छ।’
प्राध्यापक पिटर्स विश्वभर फैलिएका खानेकुरा र पेय पदार्थ कम्पनीहरूसँग उनीहरूको वितरण प्रणाली उधारोमा प्रयोग गर्न सकिन्छ कि भन्ने विषयमा छलफल गरिरहेका छन् । खोप वितरण प्रकृया व्यवस्थित तुल्याउनकालागि देशहरूले आफ्नो जनसङ्ख्यामा कहाँ, कसरी, कसलाई खोप लगाउने हो त्यसको प्राथमिकता निर्धारण पनि गर्नुपर्छ।

पहिले कसलाई खोप?
ब्रिटेनको वेलकम ट्रस्टका खोप प्रमुख डा. चार्ली वेलर देशहरूले खोपको विषमा अब आफूलै आफैलाई केही कठिन प्रश्नहरू सोध्नुपर्ने बताउँछन् । ‘कसलाई खोप चाहिन्छ? सबैभन्दा जोखिममा भएका समूहमा को पर्छन् ? र कसलाई उच्च प्राथमिकतामा राख्ने ? किनभने हामीलाई पक्का थाहा छ सुरुमा खोपका मात्रा आवश्यकताभन्दा निकै कम उपलब्ध हुनेछन् र प्राथमिकता निर्धारण गर्नैपर्छ।’ फेरि, खोप लगाउने कार्य पनि सहज हुँदैन । उदाहरणका लागि यूकेले जनतालाई खोप लगाउनकालागि मतदान केन्द्रहरूको सञ्जाललाई जुन ढंगले व्यवस्थापन गरिन्छ त्यही प्रकृया अपनाउने कि भनेर विचार गरिरहेको छ । तर गरिब राष्ट्रहरूमा यो प्रक्रिया पनि कठिन हुनेछ । डा. वेलरका अनुसार प्रभावकारी रूपमा जनतालाई खोप लगाउने प्रकृयाको केन्द्रमा सम्बन्धित देशमा स्वास्थ्य सेवाको अवस्था कस्तो छ त्यसमा धेरै कुरा निर्भर रहन्छ किनभने, लक्ष्यित समूहलाई खोप लगाउन सही सीप भएका स्वास्थ्यकर्मीहरू आवश्यक पर्छ । वैज्ञानिकहरू कुनै नै कुनै प्रकारको खोप पत्ता लागि हाल्ने कुरामा विश्वस्त छन्। तर खोप तयार भइसकेपछि संसारभरी अर्बौँ मानिसहरूसम्म त्यसलाई कसरी पुर्याउने भन्ने बारेमा सोचेर धेरैको रातको निन्द्रा हराइरहेको छ ।

नेओमी ग्रिम्ली
बीबीसी विश्वमामिला सम्वाददाता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साहासिक पदयात्राका लागि ‘थोराङ्ला पास’

म्याग्दी। शरद यामको सुरवात र मनसुन निष्क्रिय हुँदै गएपछि खुल्न थालेको आकाश ।

‘पोस्ट मनसुन’ ले चिसो बढ्दै, आवश्यक सतर्कता अपनाउन अनुरोध

काठमाडौँ । देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ । सँगसँगै पछिल्ला

मकवानपुरको मनहरिमा बस र ट्रक आपसमा ठोक्किँदा ३० जना घाइते

बागमती ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरि गाउँपालिका–६ चौकीटोलस्थित सडकमा सोमबार साँझ ५ बजेतिर