रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख १६ हजार मूल्य बराबरको फर्सीको बिउ बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बुधीमाई नगरपालिका–७ स्थित बंकुल टोल नजिक नेपाल–भारत सीमाक्षेत्रमा त्रिपालले छोपेर लुकाइराखिएको ३२२ बोरा फर्सीको बिउ बरामद गरिएको हो ।
गोप्य सूचनाका आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बुधबार साँझ करिब ७ः३० बजे खानतलासी गर्दा बिउ फेला परेको प्रहरीले जनाएको छ। बरामद सामग्री आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिउ नियन्त्रणमा लिने क्रममा केही स्थानीयले अवरोध गर्दै ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन ६ राउण्ड अश्रुग्यास प्रहार गरिएको थियो ।
झडपमा ३ स्थानीय र ३ प्रहरी कर्मचारी गरी ६ जना सामान्य घाइते भएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रतिक्रिया