नवप्रवर्तनमन्त्री महावीर पुनको पहिलो दिनको निर्णय


काठमाडौँ । नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आफूले पहिलो दिन गरेका निर्णय सार्वजनिक गरेका छन् । मन्त्री पुनले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सबै कुरा शून्यबाट सुरु गरिएको जानकारी दिएका हुन् ।

उनले भनेका छन्, ‘पहिलो दिन चालेको कदमहरु – विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सबै कुरा शून्यबाट सुरु हुँदैछ । यो मन्त्रालय चलाउन अरु अरु मन्त्रालय जस्तो सबै कुरा तयारी अवस्थाका छैन। सर्वप्रथम विज्ञान प्रविधि तथा नवप्रवर्तन ऐन ल्याउन विधेयक बनाउने निर्णय गरियो । अनि यो मन्त्रालय सुचारु रुपमा चलाउन कति कर्मचारी राख्ने, दरबन्दी कति चाहिने र काम कसरी छिटो र प्रभावकारी बनाउने भनेर सर्भेक्षण (O and M) गर्ने निर्णय गरियो। विभिन्न मन्त्रालय अन्तरगत छरिएर भैरहेका अनुसन्धान तथा नवप्रवर्तनलाई कसरी प्रभावकारी रुपमा अगाडि बढाउने भन्ने कुरामा गहन छलफल तुरुन्त सुरु गर्ने निर्णय गरियो। हेर्दै जानु होला ।’