जोहानेसबर्ग । दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो सहर जोहानेसबर्गस्थित एक अनौपचारिक बस्तीमा भएको सामूहिक गोलीकाण्डमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका छन् । प्रहरीले घटनामा सङ्गठित अपराध समूहहरूको संलग्नता हुन सक्ने आशङ्का गरेको भए पनि आक्रमणको वास्तविक उद्देश्यबारे अनुसन्धान जारी रहेको जनाएको छ ।
प्रहरीका अनुसार राति ११ बजापछि १० भन्दा बढी सशस्त्र व्यक्तिहरू मिनीबसमार्फत क्लिभल्यान्ड उपनगरको बस्ती क्षेत्रमा पुगेका थिए । उनीहरूले विभिन्न स्थानमा पुगेर स्थानीय बासिन्दामाथि अन्धाधुन्ध गोली चलाएका थिए । आक्रमणपछि उनीहरू सोही सवारीसाधनमार्फत घटनास्थलबाट फरार भएका थिए ।
मृतकमध्ये नौ पुरुष र तीन महिला रहेका छन् । ११ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाले अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका थिए । घाइते नौ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनापछि व्यापक खोजी अभियान सुरु गरिएको भए पनि बुधबारसम्म कुनै पनि संदिग्ध पक्राउ परेका छैनन् । प्रहरीले अपराध अनुसन्धान र गुप्तचर शाखाका विशेषज्ञ टोली घटनास्थलमा परिचालन गरेको जनाएको छ ।
जोहानेसबर्गका यस्ता अनौपचारिक बस्तीहरूमा गरिब तथा आवासविहीन परिवारहरू अस्थायी संरचनामा बस्ने गर्छन् । बुधबार बिहान घटनास्थलमा एम्बुलेन्सहरू परिचालन गरिएका थिए भने स्थानीय बासिन्दा त्रासपूर्ण वातावरणबीच समूह–समूहमा भेला भएका देखिएका थिए ।
दक्षिण अफ्रिकामा पछिल्ला वर्षहरूमा सामूहिक गोलीकाण्डका घटना बढ्दै गएका छन् । गत डिसेम्बरमा भएका दुई छुट्टाछुट्टै घटनामा मात्रै २० भन्दा बढी व्यक्तिको ज्यान गएको थियो । यस्ता अधिकांश घटना आपराधिक गिरोहबीचको सङ्घर्षसँग जोडिने गरेका छन् ।
विशेषगरी जोहानेसबर्ग र आसपासका क्षेत्रमा अवैध सुन उत्खनन ठूलो समस्या बनेको छ । परित्यक्त खानीहरूमा सक्रिय गिरोहहरूले बाँकी खनिज निकाल्ने अवैध गतिविधि सञ्चालन गर्दै आएका छन् । यिनै गतिविधिमाथिको नियन्त्रण, क्षेत्रीय प्रभाव विस्तार र अवैध व्यापारको हिस्साका लागि गिरोहहरूबीच हिंसात्मक सङ्घर्ष हुने गरेको सुरक्षा अधिकारीहरूको भनाइ छ ।

प्रतिक्रिया