‘बहादुरीका साथ पछि हट्नु’भन्दा पार्टीमा सरसल्लाह गर्दा के घाटा हुन्छ र ?
विष्णु रिजाल ।
नेकपा भर्खरै बनेको पार्टी हो, एकता प्रक्रिया नै पूरा भएको छैन । त्यसैले आन्तरिक संघर्ष र जोडघटाउ गर्ने बेला नै होइन । शीर्ष तहबाटै यस्तो बेमौसमी बाजा बजाइएपछि स्वाभाविक रुपमा तरंगहरु आउँछन् ।
नेकपामा कोही पनि चुकेल्यांग (सबै काम एक्लै गर्न सक्षम चिनियाँ पौराणिक पात्र) छैन । अझ ठोस रुपमा भन्नुपर्दा कुनै नेताको पनि न सचिवालय, न स्थायी समिति, न केन्द्रीय कमिटी न संसदीय दल- कतै पनि बहुमत छैन । हालैका घटना- स्थायी समिति बैठक माग, एमसीसी, राष्ट्रिय सभा सदस्य सिफारिश र केन्द्रीय कमिटी बैठकका दृश्यहरुले सबै कुरा स्पष्टै पारेका छन् ।
यस्तो बेलामा क्षणिक शक्ति प्रदर्शन, मर्यादित संस्थाहरुको दुरुपयोग, कहिल्यै सत्ताबाट झर्नुपर्दैन भन्ने जस्ता दम्भ देखाउनु आफ्नै लागि घातक हुन्छ ।
काम कुरा जता छ, कुम्लो बोकेर त्यतै लाग्नुपर्ने हो । विवादमा फस्नु र ‘बहादुरीका साथ पछि हट्नु’भन्दा पार्टीमा सरसल्लाह गर्दा के घाटा हुन्छ र ?