को किङ, को किङमेकर ?

बालेन भर्सेस हर्क

10.43k
Shares

के तपाईंलाई आफू बसोबास गरेको पालिका प्रमुखको नाम थाहा छ ? धेरै जसोलाई आफू बसेको पालिका प्रमुखको नाम थाहा छैन होला । विभिन्न कामको दौरान पटक पटक पुग्नैपर्ने वडाको अध्यक्षको नाम समेत हामीलाई थाहा नहुन सक्छ । तपाईं काठमाडौँ वा धरानको भएत ठिकै छ । तर सरोकार नै नराख्ने यी महानगरपालिकाका मेयरहरूकोबारेमा अधिकांश जनता जानकार मात्रै छैनन्, धेरैका लागि उनीहरू चासोका पात्र हुन् । कुनै दुई पात्रको तुलना गर्न जरुरी छैन । तर राष्ट्रिय राजनीतिमा एकैपटक स्वतन्त्ररूपमा उदाएका दुई मेयरहरू बालेन साह र हर्क साम्पाङ निक्कै चर्चित मात्रै छैनन् भविष्यको राष्ट्रिय नेतृत्वको रूपमा मुलुकले हेरेका पात्रहरू हुन् । यी दुईको सम्बन्धमा कहिले मित्रवत र कहिलै वैरभाव हुने उतारचढावले पनि यी दुई पात्रको प्रवृत्तिलाई तुलनात्मक रूपमा हेर्नु बडो चाखको विषय हुनसक्छ ।

२०७९ को स्थानीय चुनावमा बालेन साहको गज्जबको ब्रान्डिङ गरिएको थियो । यसका लागि एउटा टीम थियो । निर्वाचनको सम्पूर्ण रणनीति त्यो टीमले बनाउँथ्यो । निर्वाचन प्रचारप्रसारको दौरान, कसरी जनता र मिडियामा प्रस्तुत हुने, सामाजिक सञ्जालमा के राख्ने वा नराख्ने देखि लिएर कस्तो कपडा लगाउने भन्ने सम्मको कुरा बालेनको ब्राण्डिङ्गमा ध्यान पुर्याइएको थियो । त्यही अनुरूप बालेनले कहीँ कतै अन्य उम्मेदवारको वा रानजीतिक दलको विरोध गरेनन्, जहाँपनि विशेषगरी एजेन्डाको बारेमा मात्रै बोले, सधैँ कालो टिसर्टमा कालो कोट, त्यसमाथि कालो चस्मा मात्रै लगाए ।

मानिसको मनको भाव आँखाबाट पोखिन्छ । कालो चस्माले धेरै कुरा छोप्छ । छर्लङ्ग कुराभन्दा आधा रहस्यले मोहनी लगाउँछ । बालेनको त्यस्तो आउटलुक र व्यक्तित्व हेरेर पनि कम उमेरका मतदाता विशेषगरी युवतीहरूले गतिलै सङ्ख्यामा भोट हालेका थिए । आज पनि बालेन बन्द कोठाको मिस्ट्री हो । यस्तो ब्रान्डिङ गरेका कारण र उनको सांगीतिक पृष्ठभूमिले बालेनलाई एउटा पुस्ताको मानिसले निक्कै मन पराए । जेनजी आन्दोलन लगत्तै मुलुकले भोगेको असहज परिस्थितिमा मौन रहनाले बालेनको केही मात्रामा क्रेज घटेको छ । तर आज पनि बालेन एउटा पुस्ताको सर्वमान्य नेता हुन् ।

अर्कोतिर हर्क साम्पाङ्ग निकै सामान्य कपडा लगाउँथे । चुनावी प्रचारमा एक्लै हुन्थे । दलका नेताहरूको विरोध गर्थे । मन लागेको बोल्थे । निरन्तर बोलिरहन्थे । मिडियामा नभई सडकमा हुन्थे । जनताको घरघरमा धाउँथे । जनतासँग उमेर अनुसारको नाता गाँस्थे । असिनपसिन भएर खट्थे । उनी जे थिए छर्लङ्ग थिए । बालेनभन्दा फरक हर्क एउटा पुस्ताको मात्रै नेता होइन । तर कुनै उमेर समूहको सर्वमान्य नेता पनि होइनन् ।

बालेन र हर्कको छवी कसरी विकास हुँदैछ त भन्दा मुलुक विरामी हुँदै गर्दा बालेन साह प्याकेजिङ्ग गरिएको टनिक जस्तो देखिन्छन् । टनिक कहाँ र कसले बनाउँछ त्यो आममानिसले थाहा पाउँदैन । तर शरीरमा कमी भएको कुरा टनिकले परिपूर्ति गर्छ भन्ने कुरामा मानिसले विश्वास गर्छन् । हर्क सम्पाङ्ग आफ्नै बारीको अर्गानिक तरकारी जस्तो हो । कहाँ कसरी उत्पादन भो थाहा त छ तर शरीरमा चाहिने जति नानाभातिका पोषण आफ्नो बारीमा फलेको तरकारीले परिपूर्ति गर्ला कि नगर्ला आममानिस विश्वस्त हुन सक्दैनन् ।

टनिकलाई कसैले विश्वास गर्न सक्छन् । कसैले स्क्याम भनेर शंका । त्यसैले शंका गर्नेहरूले बालेनलाई लुसीफर भन्दैछन् । विदेशी एजेन्ट भन्दैछन् । तर घाम जस्तै छर्लङ्ग हर्कलाई कसैले पनि विदेशबाट परिचालित हो भनेर लाल्छना लगाउनै सक्दैन ।
आवश्यकताअनुसार टनिकको क्याप्सुलमा धेरै प्रकारका पोषण मिसाइएको हुनसक्छ । तर तरकारीमा केही विशेष पोषणको मात्रै मात्रा बढी हुन्छ । अर्थात् बालेन बहुआयामिक छन् तर हर्क बहुआयामिक छैनन् । हर्कको आयाम सीमित छ । चुनावको बेलाको प्रचाप्रसारको दौरान फर्केर हेर्दा पनि महानगर बनाउन बालेनका विषयगत रूपमा किसिम किसिमका एजेण्डाहरू थिए । तर हर्कको अन्य एजेण्डा तपसीलमा थिए । मुख्य एजेण्डा धराने जनतालाई पानी खुवाउने थियो ।

आजसम्म आइपुग्दा के देखिन्छ भने बालेनको विकास मोडल बहुआयामिक छ । बालेनले शिक्षा, स्वास्थ्य, संस्कृति, पुरातात्विक महत्वको कुरा, रोजगार, भौतिक संरचनाको विकास, खेलकुद, नगरको सरसफाई र श्रृङ्गार अनेक कुरामा ध्यान दिएका छन् । हर्क केही सीमित विषयमा मात्रै केन्द्रित छन् । श्रम संस्कृति पार्टीको घोषणापत्रलाई थाति राखेर आजसम्म गरेको कामलाई हेर्ने हो भने हर्कका धेरै योजनाहरू अन्य पाटोभन्दा धरानको आर्थिक समृद्धि र भौतिक विकासमा केन्द्रित छन् ।

राजनीतिका सन्दर्भमा पनि बालेनले हर्कझैँ जनतालाई मात्रै राजनीतिक स्टेक होल्डरका रूपमा देख्दैनन् । त्यसैले बालेन मेयर भए लगत्तै प्रधानसेनापतिसँग भेट्न गए । उनले त्यो बेला तत्कालिन प्रधानमन्त्री केपी ओलीसँग पनि भेटेका थिए । केहीअघि पूर्वराष्ट्रपति विद्या भण्डारीसँग पनि भेटेका थिए । बेला बेलामा विभिन्न मुलुकका राजदूत र कुटनीतिक नियोगका अधिकारीसँग पनि भेट्छन् । हर्कसँगको सम्बन्धलाई पनि बालेनले बिगार्न चाहँदैनन् । त्यसैले हर्कले जतिसुकै ओरोप लगाएपनि बालेनले हर्कको विरोध गर्दैनन् । तर हर्कको राजनीति विशेषगरी जनताको वरपर मात्रै घुमेको छ । हर्क आमजनतासँग यति नजिक छन् कि धेरै धरानेहरूलाई हर्कको पसिनाको गन्ध कस्तो छ सम्म थाहा छ । तर उनी राजनीतिका अन्य स्टेक होल्डरसँग नजिक हुन खोजेको देखिँदैन । उनको यस्तो विचारका कारण नयाँ राजनीतिक शक्ति एक भएर जानुपर्छ भन्ने कुरामा सम्भावित नेतृत्वसँगसम्म वार्ता गर्न चाहँदैनन् ।

बन्द कोठाको मिस्ट्री बालेनले सीप मेला गरेर हजारौँ भीड जम्मा गछन् र तर उनी मेलामा जनतासँग देखिदैनन् । तर यसको विपरीत हर्क श्रम मेला लगाउँछन् र आफैं जनतासँगै पसिना चुहाउँछन् । यी दुई कार्यलाई नियाल्दा बालेर र हर्कबीचको अर्को भेद देखिन्छ । बालेन दूरदर्शी छन् तर हर्क रिजल्ट ओरियन्टेड । जनतालाई सीप सिकाउनुको परिणाम तत्काल देखिँदैन तर त्यसले मुलुकको समृद्धिमा दीर्घकालीन प्रभाव पार्छ । तर पसिना चुहाउनुको परिणाम तत्कालै देखिन्छ ।

जेनजी आन्दोलन लगत्तै यी दुईबीचको अर्को प्रवृत्तिगत भेद पनि देखिएको थियो । बालेन प्रत्यक्ष अगाडि आएनन् । सबैको माग हुँदा पनि प्रधानमन्त्री बन्न इन्कार गरे । नेपथ्यमा रहेर जेनजीलाई केही सल्लाह, केही मार्गदर्शन दिए । प्रधानमन्त्रीको नाम नै सिफारिस गरिदिए । बालेन अहिले मजबुद वैकल्पिक शक्ति निर्माणका लागि विभिन्न स्टेकहोल्डरसँग भेटघाटमा छन् । अनि नेतृत्वको अवसर हुँदा पनि ब्याक सर्दै वैकल्पिक शक्तिको नेतृत्व आफूभन्दा अब्बल अर्कैलाई सुम्पन तयार छन् ।

बालेनले जे गर्दैछन् दीर्घकालीन रूपमा आउने परिणामलाई सोचविचार गरेर गर्दैछन् । तर जेनजी आन्दोलन लगत्तै हर्कले जबरजस्तरुपमा प्रधानमन्त्री बन्ने चाहना राखे । त्यस्तो परिस्थितिमा निकास दिन र देशको दीर्घकालीन हितको लागि आफू उपयुक्त पात्र हुँ वा होइन भन्ने हर्क साम्पाङ्गले सोचेनन् । अनि आफू प्रधानमन्त्री भएको भए सबैलाई केही दिनमै कारबाही गर्नेथिएँ भनिरहेका छन् । तर यस्तो विषम परिस्थितिमा लामो समय सत्ता र शक्तिमा रजगज गरेकाहरूले प्रतिक्रन्ति गरेर मुलुक मुठभेढमा जाने खतरा हुनसक्छ । यस्तो परिवेशमा परिवर्तनका कति मुद्दाको तत्कालै परिणाम आउने गरी छिनोफाने गर्नुपर्छ । त्यसका लागि आँट र जोश त चाहिन्छ । सँगसँगै कति कुरा सुझबुझका साथ गरिनुपनि पर्छ । नत्र परिणाम सोचेअनुरूप नआउन सक्छ ।

रिजल्ट ओरियन्टेड भएका कारण, मनमा लागेको जे हो त्यो हर्कले भन्छन् । देश कुन राजनीतिक मोडलमा जानुपर्छ स्पष्ट धारण राख्छन् । तर बालेन हर्कझैँ जोसिलो नभई सुझबुझ देखाउँछन् । बालेनका बारेमा धेरथोर दाबी गर्न सक्ने कुरा के हो भने, उनी निर्दलीय व्यवस्थाका हिमायती हुन् । संघीयता खारेजी हुनुपर्छ भन्ने मत राख्छन् । धर्म संस्कृतिप्रति निक्कै लगाव राख्छन् । तर व्यक्तिगत रूपमा जे लागे पनि राजनीतिक मुद्दाहरूमा सार्वजनिक रूपमा बालेनले धारणा अभिव्यक्त गर्दैनन् । यस्तो किन भन्दा राजनीतिको सन्दर्भमा बालेन बहस गर्दैनन् निकास दिन प्रयास गर्छन् । बालेन र हर्कबीचको अर्को भेद भनेको बालेन विचार र हर्क एक्सन हो । बालेन किङमेकर हुन् । हर्कको खुबी के हो भने आफूले जे गर्छन् त्यसमा किङ्ग बन्ने क्षमता राख्छन् ।

बालेन किङमेकर हुन् भन्ने कुरा जेनजी आन्दोलनपछि बालेनका कारण प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीको उदय हुनुले प्रष्ट्याइसक्यो । अहिलेको समयमा बालेनको राजनीतिक हैसियत मेयर पदले मापन गर्दैन । उनले ठूलो पदमा नरहेर पनि मुलुकको राजनीतिको चाबी हातमा राखेका छन् । पुराना दलइतरका वैकल्पिक शक्ति निर्माण गर्दैगर्दा पनि बालेनले नेतृत्वमा अरूलाई सारेर किङमेकरको भूमिकामा देखिँदैछन् । हुनसक्छ उपयुक्त कामका लागि उपयुक्त समय हेरेर भोलिका दिनमा बालेनले हर्कलाई राजनीतिक सरप्राइज दिन पनि सक्नेछन् ।

हामीले सुरुमै भनेका थियौँ बालेनसँग टीम छ । खासमा नेपालको राजनीतिमा बालेन व्यक्ति मात्रै नभई विचार हो । तर कुनै एक व्यक्तिको विचार होइन । देशलाई राम्रो बोटोमा लैजाउँ भन्ने युवा समूहको सामूहिक विचार हो । तर बालेन व्यक्तिगतरूपमा चाहिँ सबैले पत्याउने अनुहार हो । जुन अनुहारले त्यो समूहको विचार अभिव्यक्ति गर्दा मुलुकमा तरङ्ग आउँछ ।
बालेन ब्रान्डिङ्ग गरिएका नेता हुन् । तर ब्रान्डिङ्ग गरिएको वा रहस्यमय कुरामा एउटा समस्या हुन्छ । ब्रान्डिङ्ग गरिँदा वस्तुमा गरिने विश्वास वस्तुको गुणवद्धताको पहिचानभन्दा पनि मानिसको मनोविज्ञानसँग जोडिएको विषय हो । त्यसैले बालेनको गुणवद्धता कति छ भन्ने कुराको केही परीक्षण भएपनि खासै परीक्षण भइसकेको छैन ।

हामीले बोलेनको क्षमताभन्दा अधिक रूपमा उसबाट अपेक्षा गरेका पनि हुनसक्छौँ । मानिसले बालेनलाई मुलुकले देखेको सबैभन्दा विषम परिस्थितिमा नेतृत्व लिन गुहारे । बालेन अगाडि सरेनन् । अहिले अनेकन मानिसले बालेनलाई हुतिहारा पनि भनिरहेका छन् । त्यो समयमा प्रधानमन्त्री बन्न बालेनका लागि उपयुक्त थियो वा थिएन भन्ने प्रश्नलाई थाँति राखौँ । यो पनि महत्वपूर्ण प्रश्न हो कि अधिक लोकप्रिय भयो भन्दैमा त्यस्तो परिस्थितिमा राज्यसत्ता सम्हाल्ने क्यालिबर के बालेनमा थियो वा थिएन ? बालेन त अँध्यारोमा रहेको रहस्य हो । बालेनको क्यालिबर कतिसम्मको हो परीक्षण भइसकेको छँदैछैन ।

भविष्यमा बालेन र हर्कको राजनीतिक व्यक्तित्व हामीले यहाँ विश्लेषण गरेको भन्दा फरक हुँदै जाला । तर यी दुई धारका राजनीतिक व्यक्तित्वहरू छुट्टिनुभन्दा एकै ठाउँमा आएमा मुलुकले यथास्थितिवादको राजनीतिबाट मुक्ति पाउने निश्चित हुन्थ्यो । तर अफसोस त्यस्तो भइरहेको छैन । जे होस् हाम्रो कामना छ, बालेन र हर्कले मुलुकको राजनीतिमा मात्रै नभई समग्र विकासमा टेवा पुर्याउन सकुन् ।