काठमाडौं । नेपाल पुलिस क्लवले अर्को साविक विजेता एपीएफ क्लवमाथि रोमाञ्चक जित हात पारेको छ । शनिबार भएको महिला तर्फको खेलमा पुलिसले एपीएफलाई पाँच सेटमा हरायो ।
त्रिपुरेश्वर स्थित राखेपको कर्भडहलमा भएको खेलमा एपीएफविरुद्ध पुलिसले उत्कृष्ट कमब्याक गर्दै खेल जित्न सफल भयो । उसले सुरुवाती दुई सेट गुमाएको अवस्थामा खेल आफ्नो पोल्टामा पार्यो ।
जारी प्रतियोगितामा एपीएफको पहिलो हार हो । एपीएफले पुलिससँग २५–२०, ३०–२८, २३–२५, १९–२५ र ११–१५ को सेटमा हार ब्यहोर्यो ।
पहिलो सेट २५–२० ले जितेको एपीएफले दोस्रो सेटमा पुलिसबाट कडा टक्कर पाएको थियो । जसमा उसले ३०–२८ ले सेट जित्यो ।
तर त्यसपछि एपीएफको खेलमा तालमेलको कमि भयो । जसको फाइदा पुलिसले उठाउन सफल भयो । पुलिसले तेस्रो सेट २५–२३ ले जित्यो भने चौथो सेट २५–१९ ले आफ्नो पक्षमा पर्यो । यस्तै अन्तिम सेटमा पनि १५– ११ ले जित्दै दुई अंक हात पार्यो ।
यो जितसँगै पुलिसले प्रधानमन्त्री कपको फाइनलमा ब्यहोरेको हारको पनि बदला लिएको छ ।

प्रतिक्रिया