काठमाडौं । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका लागि सरकारसँग भएका सहमतिहरू कार्यान्वयन नभएको भन्दै प्रा. डा. गोविन्द केसीले सरकारलाई पुनः ध्यानाकर्षण गराएका छन् । उनले सहमतिहरू शिघ्र कार्यान्वयन नगरे स्थगित सत्याग्रहसहितको आन्दोलन पुनः सुरु गर्ने चेतावनी दिएका छन्।
सोमबार विज्ञप्ति जारी गरी डा. केसीले दुई हप्ताभित्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइएका सहमतिका बुँदाहरू अझै कार्यान्वयन नभएको उल्लेख गरेका छन्।
चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार, समतामूलक पहुँच, जवाफदेहिता, सुशासन र सामाजिक न्यायका माग राख्दै गरिएको २४औँ सत्याग्रहसहितको आन्दोलन २०८३ साउन ११ गते सरकारसँग निश्चित समयभित्र माग पूरा गर्ने सहमतिपछि स्थगित भएको थियो।
तर, सरकारले सहमति कार्यान्वयन गर्नुको सट्टा चिकित्सा शिक्षा ऐन र सुशासनका मान्यताविपरीत आम नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पार्ने थप निर्णय गरेको आरोप डा. केसीले लगाएका छन्।
त्यस्ता निर्णयको विरोध तथा पुराना सहमति कार्यान्वयन र जनहितविपरीतका निर्णय खारेजीको मागसहित गरिएको २५औँ सत्याग्रहसहितको नौदिने आन्दोलन पनि गत कात्तिक २१ गते शिक्षा मन्त्रीसहितको सरकारी टोलीसँग पुनः सहमति भएपछि स्थगित गरिएको थियो।
सरकारले दुई हप्ताभित्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका सहमतिका बुँदाहरू पूरा नभए पनि तिहार र छठको सार्वजनिक बिदालाई ध्यानमा राख्दै कार्यान्वयनका लागि केही दिन थप समय दिएको उनले बताएका छन्।
अब पनि सहमतिहरू शीघ्र कार्यान्वयन नगरिएमा वा सहमतिविपरीतका गतिविधि भएमा स्थगित सत्याग्रहसहितको आन्दोलन पुनः सुरु गर्न बाध्य हुने डा. केसीले चेतावनी दिएका छन्। आन्दोलन पुनः सुरु भए त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकारले स्वयंले लिनुपर्ने उनको भनाइ छ।
जनताको स्वास्थ्य र शिक्षासँग सम्बन्धित सवालमा सरकार आफ्नो प्रतिबद्धताबाट पछि हट्न नमिल्ने उल्लेख गर्दै डा. केसीले सहमति कार्यान्वयन गर्नु सरकारको नैतिक तथा राजनीतिक दायित्व भएको बताएका छन्।

प्रतिक्रिया