काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले चीन भ्रमणमा रहेका सांसदहरूमाथि प्रश्न उठाएकी छन् । उनले रुकुम र जाजरकोटका भूकम्प प्रभावितको अवस्था र राहतबारे अध्ययन गर्नुपर्ने भन्दै सांसदहरूको चीन भ्रमणप्रति असन्तुष्टि व्यक्त गरेकी हुन् ।
सामाजिक सञ्जालमार्फत तामाङले भूकम्प प्रभावित क्षेत्रमा पीडितले अझै राहत नपाएको हुनसक्ने उल्लेख गर्दै त्यस्ता क्षेत्रको अध्ययन छाडेर चीनमा भूकम्पसम्बन्धी अध्ययन गर्न सांसदहरू पुगेको भन्दै आलोचना गरेकी छन् ।
उनले लेखेकी छन्, ‘अब सांसदहरू कोही समितिबाट विदेश, कोही विदेशको निमन्त्रणाले विदेश । रुकुम, जाजरकोटमा आजसम्म भूकम्पपीडितले राहत पाएको छैन होला, त्यसको अध्ययन गर्न छोडेर चीनमा कसरी भूकम्प आउँछ भनेर पोका पुन्तुरा बोकेर अध्ययनको लागि पुग्नुभएको छ ।’
उनले पुराना राजनीतिक दलका सांसदहरूले यस्तै गतिविधि गर्दा गलत ठहरिने तर नयाँ दलका सांसदहरूले गर्दा कसरी उचित हुने भन्दै प्रश्न गरेकी छन् । तामाङले सांसदसँगै उनीहरूका सचिवालयका सदस्यसमेत विदेश भ्रमणमा लैजाने चलन रहेको भन्दै थप टिप्पणी गरेकी छन् ।

प्रतिक्रिया