प्रधानन्त्रीको भारत भ्रमणलाई लिएर खुश्बु ओलीको टिप्पणीः प्रधानमन्त्रीको व्यवहारले राजसंस्थाको बहस थप सान्दर्भिक


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ खुश्बु ओलीले प्रधानमन्त्री बालेन साह भारत भ्रमणमा जानुअघि राष्ट्रप्रमुखसँग भेट नगरेको विषयलाई राजसंस्थाको औचित्यसँग जोडेर टिप्पणी गरेकी छन् ।

सामाजिक सञ्जालमार्फत ओलीले प्रधानमन्त्रीलाई धन्यवाद दिँदै राजसंस्थाको औचित्यमाथि आफूहरूले वर्षौंदेखि उठाउँदै आएको प्रश्नलाई प्रधानमन्त्रीको व्यवहारले पुनः बहसको केन्द्रमा ल्याएको दाबी गरेकी हुन् ।

उनले विदेश भ्रमणमा जानुअघि प्रधानमन्त्रीले राष्ट्रप्रमुखलाई भेट्ने संवैधानिक परम्परा तोडेको आरोप लगाउँदै राष्ट्रप्रमुखको संवैधानिक संस्थालाई उचित सम्मान र मर्यादा दिन नसक्ने संस्थागत संरचनाबारे प्रश्न उठाएकी छन् ।

उनले भनेकी छन्, ‘राष्ट्रप्रमुखको संवैधानिक संस्थालाई समेत उचित सम्मान र मर्यादा दिन नसक्ने कस्तो व्यवस्था, र कस्तो संस्थागत संरचना गणतन्त्रले निर्माण गरेछ त ?’

उनले राजसंस्था भएको अवस्थामा प्रधानमन्त्रीले राष्ट्रप्रमुखको गरिमा बेवास्ता गर्दै अघि बढ्न सक्ने थिए कि थिएनन् भन्ने प्रश्नसमेत उठाएकी छन् ।

देशलाई शक्तिशाली प्रधानमन्त्री मात्रै नभई राज्यका सबै संस्थालाई मर्यादामा राख्ने अभिभावकीय राजसंस्था आवश्यक रहेको आफूहरूको धारणा रहेको उल्लेख गर्दै ओलीले प्रधानमन्त्रीको व्यवहारले उक्त बहसलाई थप सान्दर्भिक बनाएको टिप्पणी गरेकी छन् ।