कञ्चनपुर । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक महाकाली नदीमाथिको दोधारा चाँदनी जोड्ने ऐतिहासिक झोलुङ्गे पुलको अनुगमनमा पुगेका छन्।
शुक्रबार पुलको अनुगमनमा पुगेका लेखकले पुल भत्किएको घटनाले आफूलाई अत्यन्त दुःख लागेको बताए। उनले पुलको यथाशीघ्र पुनर्निर्माण तथा नियमित मर्मतसम्भारको व्यवस्था मिलाउन नेपाल सरकार र सम्बन्धित निकायसँग आग्रह गरे।
लेखकले यो पुल दोधारा चाँदनी वा कञ्चनपुरको मात्र नभई सिंगो देशकै ऐतिहासिक सम्पदा भएको उल्लेख गरे। कुनै समय नेपालको अन्य भूभागसँग जोडिन भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको दोधारा चाँदनीलाई प्रत्यक्ष रूपमा देशको अन्य भूभागसँग जोड्न पुलले महत्वपूर्ण भूमिका खेलेको उनले स्मरण गरे।
२०५६ सालमा कञ्चनपुरबाट पहिलो पटक निर्वाचित भएपछि तत्कालीन प्रतिनिधिसभामा आफूले महाकाली नदीमा झोलुङ्गे पुल निर्माण गरी दोधारा चाँदनी जोड्नुपर्ने प्रस्ताव राख्दा कतिपयले असम्भव भन्दै ठट्टा गरेको लेखकले बताए। तर, नेपाल सरकारको बजेट, नेपाली प्राविधिक र नेपाली निर्माणकर्ताबाट पुल निर्माण गर्न सफल भएको उनले उल्लेख गरे।
उनका अनुसार यस पुलको निर्माणपछि नेपालका अन्य स्थानमा समेत लामो झोलुङ्गे पुल निर्माण गर्ने प्रविधिको विकास र विस्तारमा सहयोग पुगेको थियो। त्यसैले पुलको संरक्षण, पुनर्निर्माण र नियमित मर्मतसम्भार आवश्यक रहेको लेखकको भनाइ छ।

प्रतिक्रिया