काठमाडौंका ६ रुटमा साझाका २८ वटा रात्रीबस


काठमाडाैं । साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गरेको छ । साझाले शनिबारदेखि ६ वटा रुटमा २८ वटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ।

साझाले हाल सञ्चालनमा रहेको रात्रिकालीन सेवालाई चार गुणाले विस्तार गरेको जनाएको छ । साझा यातायातका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भूपेन्द्र अर्यालका अनुसार गत वैशाख १ गतेदेखि दुईवटा रुटमा सात वटा बसमार्फत रात्रिकालीन सेवा सुरु गरिएको थियो।

हाल नागढुंगा–एयरपोर्ट र लगनखेल–बुढानीलकण्ठ रुटमा सञ्चालन हुँदै आएको सेवा अब थप रुटमा विस्तार भएको छ । अब बुढानीलकण्ठ–गोदावरी रुटमा ६ वटा, जगाती–रत्नपार्क–ठमेल रुटमा ६ वटा, त्रिभुवन विमानस्थल–नागढुंगा रुटमा चार वटा बस चल्नेछन् । त्यस्तै, कीर्तिपुर–जमल रुटमा चार तथा चक्रपथ परिक्रमाका लागि दुवैतर्फ गरी आठ वटा विद्युतीय बस सञ्चालन हुनेछन्।

यससँगै यसअघि सञ्चालनमा रहेका नागढुंगा–एयरपोर्ट र लगनखेल–बुढानीलकण्ठ रुटमा क्रमशः चार र तीन वटा बस चल्ने जनाइएको छ। कम्पनीका अनुसार रात्रिकालीन बसहरू सम्बन्धित प्रस्थानबिन्दुबाट बेलुका ८ बजेदेखि राति ११ बजेसम्म छुट्नेछन्।

साझा यातायातले पछिल्लो समय काठमाडौं उपत्यकामा सार्वजनिक यातायातको माग बढ्दै गएको र रातिको समयमा सार्वजनिक सवारी साधनको उपलब्धता तुलनात्मक रूपमा कम रहेको अवस्थालाई ध्यानमा राखेर रात्रिकालीन सेवा विस्तार गरेको जनाएको छ। नयाँ सेवाबाट कार्यालय, व्यवसाय तथा अन्य कामका लागि अबेरसम्म आवतजावत गर्ने यात्रु, विद्यार्थी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा रात्रीकालीन सेवामा कार्यरत नागरिकलाई सहज हुने अपेक्षा गरिएको छ।