नेपालमा लगानी विस्तारका लागि भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान


काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यावसायिक नेतृत्वलाई नेपालमा लगानी र व्यापारका अवसर खोजी तथा विस्तार गर्न आह्वान गरेका छन्।

भारतको नयाँ दिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई) ले आयोजना गरेको व्यापार तथा लगानीसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै मन्त्री वाग्लेले नेपालमा लगानीका लागि अहिले उपयुक्त समय भएको बताएका हुन्। आफ्नो तीनदिने नयाँ दिल्ली भ्रमणका क्रममा आयोजित कार्यक्रममा भारतीय उद्योगी, व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो।

सम्बोधनका क्रममा अर्थमन्त्री वाग्लेले नेपालमा लगानीका लागि उदीयमान अवसरबारे जानकारी गराउँदै नेपालको आर्थिक रूपान्तरणमा सहभागी हुन भारतीय व्यवसायीलाई आग्रह गरे। उच्च आर्थिक वृद्धिको सम्भावना भएका विभिन्न क्षेत्रमा नेपालले लगानीका लागि पर्याप्त अवसर उपलब्ध गराउने उनको भनाइ थियो। उनले नेपालमा यसअघि नै लगानी गरिरहेका भारतीय कम्पनीलाई लगानी विस्तार गर्न तथा नयाँ लगानीकर्तालाई नेपाली बजारको सम्भावना पहिचान गरी लगानी गर्न आग्रह गरे।

अर्थमन्त्री वाग्लेले नेपाल सरकार सुशासन, आर्थिक समृद्धि, लगानी सहजीकरण तथा संरचनागत आर्थिक रूपान्तरणको एजेन्डासहित अघि बढिरहेको जानकारी दिए। नीतिगत सुधारलाई तीव्रता दिँदै थप अनुमानयोग्य, पारदर्शी तथा लगानीमैत्री व्यावसायिक वातावरण निर्माण गर्न सरकारले विभिन्न प्रयास गरिरहेको उनले बताए।