ओरेगन नेपाली समाजको सहयोगमा ३२ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने


काठमाडौं । अमेरिकास्थित ओरेगन नेपाली समाजको सहयोगमा नेपालका विभिन्न जिल्लाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भएको छ।

सेवा र विकासका लागि युवाको समन्वयमा सञ्चालन हुने छात्रवृत्ति कार्यक्रमबारे शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो। कार्यक्रमको पाँचौँ चरणअन्तर्गत कोशीदेखि सुदूरपश्चिमसम्मका विभिन्न जिल्लाबाट छनोट भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ।

छनोट भएका प्रत्येक विद्यार्थीले एक सय अमेरिकी डलरका दरले छात्रवृत्ति प्राप्त गर्नेछन्। यसअनुसार ३२ विद्यार्थीलाई कुल तीन हजार दुई सय अमेरिकी डलर बराबरको सहयोग प्रदान गरिनेछ। विद्यार्थीलाई छात्रवृत्ति रकमसँगै प्रमाणपत्रसमेत उपलब्ध गराइने संस्थाले जनाएको छ।

ओरेगन नेपाली समाजका अध्यक्ष एकराज दाहालले भिडियो सन्देशमार्फत जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई प्राथमिकतामा राखेर छनोट गरिएको जानकारी दिए। आर्थिक अभावका कारण विद्यार्थीको पढाइ प्रभावित नहोस् र उनीहरूलाई अध्ययन निरन्तर गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उनले बताए।

समाजले नेपालको शिक्षा तथा सामाजिक क्षेत्रमा विभिन्न सहयोगमूलक गतिविधि सञ्चालन गर्दै आएको छ। छात्रवृत्ति कार्यक्रमलाई संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत निरन्तरता दिँदै आएको जनाएको छ।

पत्रकार सम्मेलनमा सेवा र विकासका लागि युवाका केन्द्रीय अध्यक्ष डा. देवेन्द्र कँडेल, केन्द्रीय कोषाध्यक्ष राजु सापकोटा र केन्द्रीय सचिव इन्जिनियर कुशल सापकोटाको उपस्थिति थियो।