संसदीय मर्यादाको धज्जी उडाउँछन् सांसद, पटकपटक दोहोर्याउँछन् गल्ती


काठमाडौं । प्रतिनिधिसभाको बैठक चलिरहेको हुन्छ । रास्वपा सांसद दीपककुमार साह बोलिरहेका हुन्छन् । त्यही बेला एउटा आवाज सुनिन्छ, ‘झ्याउ लागिसक्यो, ल चिया खान जाउँ अब, ओ ब्रदर ।’

यो कुनै प्रहसन होइन । यो त भदौ ३० गतेको संसद् बैठकको घटना हो । तर यो आवाज कहाँबाट आयो स्पष्ट छैन । यो आवाजलाई बेवास्था गर्दै सांसद साहले आफ्नो कुरा राखिरहेको देखिन्छ ।

जोसुकैले बोलेको भए पनि यो संसदीय मर्यादाविपरीतको काम हो । तर यस्ता संसदीय मर्यादाविपरीतका काम संसद् बैठकमा हाकाहाकी हुने गरेका छन् । कतिपय सांसदले त सभामुखको चेतावनीपछि पटक पटक यस्ता गतिविधि दोहोर्याइरहन्छन् ।

भदौ ३० कै बैठकको अन्तिम समयमा सभामुख डोलप्रसाद अर्यालले भदौ २९ गतेको बैठकको शून्य समयमा सांसद खगेन्द्र सुनारले बोलेको एक वाक्य अभिलेखबाट हटाउन आदेश दिए । त्यस दिनको बैठकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध भ्रष्टाचारको गम्भीर आरोप लगाउँदै उनले भनेका थिए, “कहिल्यै पनि बाबुलाई छोरीको, पुलिसलाई चोरीको आरोप गम्भीर हुन्छ ।”

सभामुखले यही वाक्यांश हटाउन आदेश दिएका हुन् । तर आश्चार्य के छ भने, सुनारले यही वाक्य बोलेपछि सत्तापक्षमा बसेका रास्वपा सांसदले टेबुुल ठोकेर समर्थन जनाएका थिए ।

सुनारले संसदीय मर्यादाविपरीतका शब्द प्रयोग वा गतिविधि गरेको यो पहिलो पटक होइन । यसअघि साउन २७ गते सार्वजनिक लेखा समितिको बैठकमा उनले जवाफका लागि बोलाइएका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध ‘अमर्यादित व्यवहार’ देखाएका थिए । पोसाक खरिदमा भ्रष्टाचार भएको उजुरीपछि बोलाइएका महानिरीक्षक कार्कीको हुर्मत लिने गरी उनी प्रस्तुत भएका थिए ।

“सुन्तलामा भिटामिन पाइन्छ, अण्डामा भिटामिन पाइन्छ, जुत्ता र मोजा खाँदा पाइने भिटामिन के हो ?” सांसद सुनारले अगाडि भनेका थिए, “एउटा गरिबको छोरा सिपाही भएर आएको छ, उसको जुत्ता खाइदिने, मोजा खाइदिने, कट्टु खाइदिने, उसका लुगा खाइदिने, यस्ता कुराहरू बारम्बार आइरहेका छन् ।”

त्यति मात्र होइन, उनले समिति सभापतिलाई नै चुनौति दिएका थिए । उनले भनेका थिए, “भ्रष्टाचारको विरुद्धमा प्रश्न गरेबापत यो समितिबाट, खगेन्द्र सुनारलाई आजको मितिबाट आउट गरिन्छ भने मलाई कुनै आपत्ति छैन, मलाई निकालिदिनुस् भोलिबाट १”

सुनारले भ्रष्टाचारको आरोप लागेका उच्च अधिकारीहरू छानबिनको टुंगो नलाग्दासम्म जिम्मेवारीबाट अलग हुनुपर्ने बताएका थिए । तर उनको कुरामा आफ्नै दलका सांसदले असहजता देखाएपछि उनी बैठक छाडेर हिँडेका थिए ।

सांसद सुनारको अभिव्यक्तिप्रति रास्वपा सचेतक क्रान्तिशिखा धितालले पनि गलत शब्द चयन भएको प्रतिक्रिया दिएकी थिइन् । उनले भनेकी थिइन्, “त्रुटि नै भन्न त मिल्दैन, तर शब्द चयनमा भने ध्यान दिनुपर्छ । यो व्यक्तिगत स्वस्फूर्त रूपमा हुने प्राकृतिक शैलीको विषय पनि होला ।”

एमाले सांसद राजेन्द्रकुमार राईले त असार २५ गते सभामुखमाथि नै अमर्यादित शब्द प्रयोग गरेका थिए । उनले सभामुखलाई ‘कान सुन्नुुहुन्छ कि सुुन्नुुहुुन्न’ भन्दै व्यंग्य गरेका थिए । त्यसपछि सभामुखले मर्यादामा रहेर भनाइ राख्न आह्वान गरे । उनको भनाइलाई रेकर्डबाट हटाउन पनि निर्देशन दिए ।

त्यति मात्र होइन सांसद राईकै कारण प्रतिनिधि सभा बैठक १५ मिनेटलाई रोकिएको पनि छ । असार २ गतेको प्रतिनिधिसभा बैठकमा बोल्नका लागि रोष्ट्रममा पुुगेका राई र सभामुख अर्यालबीच पाँच मिनेट भनाभन भइरह्यो । विनियोजन विधेयकमाथिको छलफलमा नियमानुसार मन्त्रीहरु सबैको उपस्थिति नभएको भन्दै राई विषयवस्तुुमा प्रवेश गर्नै मानेनन् ।

मन्त्री नआएसम्म नबोल्ने भन्दै उनी उभिइरहे । उनले रोष्ट्रम छाड्न पनि नमानेपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित नै गरेका थिए ।

यसबाहेक सभामुख र बोलिरहेका सांसदको बीचबाट मर्यादाविपरीत हिँड्न काम शीर्षस्थ नेताबाटै भइरहन्छ । असार ३० गतेको बैठकमा एकसाथ प्रवेश गरेका प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछाने सभामुख र बोलिरहेका सांसदको बीचैबाट हिँडेका थिए । यो विषयमा एमाले सांसद ऐन महरले नियमापत्ति गरेका थिए । गृहमन्त्री सुधन गुरुङ पनि यसरी पटकपटक सभामुख र बोलिरहेका सांसद बीचबाट हिँड्ने गरेका छन् ।

संसद् बैठकमा पटक पटक मर्यादा उल्लंघन गर्ने सांसदमा रास्वपाकै आषिका तामाङ पनि पर्छिन् । गएको भदौ १ गतेको बैठकमा उनी आसनबाट उठेपछि सभामुख डोलप्रसाद अर्यालले नियमापत्तिको विषय एक मिनेटमा राख्न भने । तर तामाङले भनिन्, “म नियमापत्ति गर्न लागेको होइन सभामुख महोदय, म तपाईंलाई क्वीइसन गर्दैछु । आजभन्दा ३७ दिनअघि मैले शून्य समयमा राखेको मेरो मुद्दा आज कहाँ गयो भनेर सोध्न चाहन्छु । यो शवको कुरा छ माननीय सभामुख महोदय । ३७ दिनसम्म एउटा परिवारले १०० डलरसम्म पैसा तिरेर कम्पनीमा शव राख्न सक्छ एउटा गरिब परिवारले ?”

तर सभामुखलाई प्रश्न गर्न नहुने नियम उनले भुलिन् । महाभियोग लागेको अवस्थामा बाहेक सभामुखमाथि प्रश्न उठाउन नमिल्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ । तामाङको भनाइलाई सच्याउँदै सभामुखले भने, “माननीय सदस्यले सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ सभामुखमार्फत । सरकारको ध्यानाकर्षण भएको छ, माननीय सदस्य बस्नुस् र सभा चलाउन सहयोग गर्नुहोस् ।”

तर उनी बस्दिनन् । उल्टै सभामुखको सचिवालयमाथि खनिन्छिन् । सचिवालयबाट र सभामुखबाट कल नआएको उनको भनाइ थियो ।

सभामुखले फेरि मर्यादा सम्झाउँछन्, “यो प्रतिनिधि सभा हो, यहाँको मर्यादामा बसेर कुरा राख्नुस् । मैले माननीय सदस्यलाई समय दिएको छैन र माइक पनि दिएको छैन । माननीय सदस्यले एकोहोरो बोल्ने होइन । माननीय सदस्यलाई समय दिन्छु २ मिनेटभित्र आफ्नो कुरा राख्नुस् ।”

त्यसपछि आफूले ३७ दिनअगाडि धादिङका सन्तोष राईको शव कम्बोडियाबाट नेपाल झिकाउन शून्य समयमा कुरा राखे पनि शून्यमै बिलाएर गएको उनले गुनासो गरिन् । अर्थ मन्त्रालयले दुई हप्ताअघि विदेशबाट शब ल्याउन बजेट छुट्याए पनि विदेश मन्त्रालयले सामान्य कार्यविधि नबनाइदिँदा आफन्तले लासका आश गर्न छाडिसकेको उनले बताइन् ।

यसबारे भोलिपल्ट भदौ २ गतेको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिए । विदेशबाट शव ल्याउन अर्थ मन्त्रालयबाट १५ करोड रुपैयाँ प्राप्त भए पनि कार्यविधि बनाउन समय लागेको खनालले बताए । उनले अवैधानिक रूपमा विदेश गएकालाई करदाताको पैसा खर्च गरेर उद्धार गर्ने अभ्यास पनि नभएको बताए । कम्बोडियासँग नेपालको श्रम सम्झौता छैन ।

मन्त्री खनाल बोलिनसक्दै तामाङ उठिन् । कार्यविधि बनाएर अर्थ मन्त्रालयमा पठाएको र स्वीकृत भएर आउने बित्तिकै सन्तोष राई लगायतको शव ल्याउने प्रयास गर्ने खनालले बताए । तामाङ उठिरहिन् ।

सभामुखले मन्त्रीको जवाफको स्पष्टीकरण माग्ने व्यवस्था नभएको भन्दै बस्न भने । उनले बोल्नका लागि ढिपी गरेपछि सभामुखले फेरि बस्नलाई भने । उनी माइकबिनै केही बोल्दै बसिन् । उनले बोलेको विषयलाई लिएर नाम नै लिएर सभामुखले मर्यादामा रहन निर्देशन दिए । तामाङ बैठककक्षबाटै उठेर बाहिरिइन् ।

उनको व्यवहारबारे रास्वपाकै सांसद असन्तुष्ट बने । सांसद स्मृति सेन्चुरीले सभामुखको अपमान गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकमै असन्तुष्टि पोखिन् ।

रास्वपाकै अर्का सांसद सुलभ खरेलले भदौ १ गतेको बैठकको आकस्मिक समयमा बोल्न समय मागे । तर उनी रास्वपाले बनाएको ‘क्यान्डिडेट क्लब’बारे बोल्न थाले । उनलाई सभामुखले रोक्दै भने, “यो आकस्मिक विषय होइन भने ।” त्यसपछि खरेल बसे ।

गत भदौ २ गतेको संसद् बैठकमा रास्वपा सांसद ज्वाला संग्रौला र एमाले सांसद साजिदा खातुनबीच जुहारी नै चल्यो । संग्रौला आफ्नो भनाइ राख्ने क्रममा जेनजी आन्दोलनमा गोली चलेको विषयलाई लिएर प्रतिपक्षी सांसदविरुद्ध खनिइन् । उनले बोलेका शब्दलाई लिएर साजिदा खातुनले नियमापत्ति गरिन् । तर सभामुखले दिएको १ मिनेटको समयमा गुण्डाराज शब्दमा आपत्ति जनाइन् । अन्य कुनै नियममा आपत्ति नगरी संग्रौलाको भनाइको खण्डन गर्नतिर लागिन् ।

त्यस बेला सभामुखको कुर्सीमा बसेकी उपसभामुख रुबीकुमारी ठाकुरले पनि कुन नियममा आपत्ति हो भनेर सोधिनन् । खातुनले बोलिसकेपछि फेरि संग्रौला उठिन् । एमाले सांसदहरुले नियमापत्तिमाथि फेरि बोल्न नमिल्ने भन्दै विरोध गरे । तर उपसभामुख ठाकुरले नियमापत्ति गर्न मिल्ने भन्दै समय दिइन् ।

संग्रौलाले गलत नियम देखाएर आपत्ति जनाइन् । उनले नियम २१ को (ङ) मा रहेको बोल्न पाउने अधिकारलाई सदनको कारबाहीमा बाधा पर्ने मनसायले दुरुपयोग गरेको जस्तो लागेको बताइन् । तर खातुनले नियमापत्ति गर्न खोजेको चाहिँ असंसदीय शब्दको प्रयोगमा थियो ।

उनले बोलिसकेपछि नियमापत्तिमा स्पष्टिकरणको व्यवस्था नभएको भन्दै फेरि एमाले सांसदले अवरोध गरे । सभामुखले झगडा गराएको एमाले सांसको आरोप थियो । फेरि ठाकुरले एक जना एमाले सांसदलाई बोल्न दिएपछि मात्र सभा अगाडि बढ्न सकेको थियो ।